काठमाडौं, मंसिर १५ ।
जिल्लामा शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठलाई गृह मन्त्रालय तानिएको छ ।
६ महिनाअघि सरुवा भइ उदयपुर पुगेका श्रेष्ठलाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका बेला जिल्लाको शान्ति सुरक्षाको अवस्था सृदृढ गर्न नसकेको भन्दै मन्त्रालय तानिएको हो ।
श्रेष्ठको स्थानमा गृह मन्त्रालयबाट प्रदीपराज कंडेललाई पठाईने भएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा उदयपुरका विभिन्न स्थानमा बम विस्फोटका शृंखलाबद्ध घटना भइरहेको अवस्थामा प्रभावकारी काम गर्न नसकेको भनी श्रेष्ठको आलोचना भएको थियो । दुई दिनअघि दनुवारवेसीमा क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडीमा विस्फोटमा परेको थियो ।
विस्फोटमा गम्भीर घाईते कार्कीसहित ७ जनाको राजधानीमा उपचार भईरहेको छ । यसअघि गत मंगलबार बिहान कांगेसका प्रतिनिधिसभा क्षेत्र नम्वर १ का उम्मेदवार पूर्वसहरी विकास मन्त्री नारायण खडकालाई लक्षित गरी त्रियुगा नगरपालिका १० बाबरीमा माइन बम विस्फोटन भएको थियो ।