१५ मंसिर, धनगढी ।
नेपाल कम्युनिष्ट पार्टीले सुराकि लगाएर सरकारले राजनितिक आस्थाकै कारण आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ ।
प्रहरी लगाएर पार्टीका नेता कार्यकर्तालाई दमन गर्ने तथा सुराकी लगाई गरेको गिरफ्तारको भत्सर्ना गर्दै गिरफ्तार सम्पूर्णको बिना सर्त तुरुन्त रिहा गर्न पनि नेकपाले सरकारसँग माग गरेको छ ।
नेकपा कैलालीका सेक्रेटरी गणेश ढकाल ‘सत्य’ले आज बिज्ञप्ती जारी गरेर कात्तिक ३० गतेदेखि हालसम्म जिल्लाका बाह्र जना नेता कार्यकर्तालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै उनीहरुको रिहाईको माग गर्नुभएको हो ।
उहाँले सरकारले गरिरहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ‘दलाल संसदीय चुनाव’को संज्ञा दिँदै राजनीतिक विचारकै आधारमा आफ्ना पार्टीलाई लक्षित गरेर समाजमा राज्यआतंक फैलाएको बताउनुभएको छ ।
‘नेपाल कम्युनिष्ट पार्टी कथित दलाल संसदीय चुनाव खारेजी अभियानमा रहेको अवगत नै छ । दलाल र उनका मतियारहरुले फरक राजनीति बिचार भएकै कारण घर बसिरहेका नेता कार्यकर्तालाई गिरफ्तार गरी राज्यआतंक मच्चाएको जग जाहेर छ’ जारी विज्ञप्तिमा भनिएको छ ।
साथै देश र जनताको हितविपरीत बलपूर्वक बन्दुकको घेराभित्र गरिएको चुनाव अस्वीकार गर्न नागरिकसँग अपिल पनि गरिएको छ ।
विज्ञिप्तमा जनाइएअनुसार अहिले कैलाली जिल्ला ईन्चार्ज रामबहादुर चौधरी ‘महान’, सेती ब्यूरो सदस्य प्रकाश मल्ल, मीनराज गिरी र जिल्ला सदस्यहरु तपेन्द्र रसाइली, जितबहादुर घर्तीमगर, सितल, सौगात, ध्रुब संज्याल, बिरामी भई घरमै उपचार गराइरहेका देब कठायत र लक्ष्मण सेट्टीलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखिएको छ ।
साथै अखिल क्रान्तिकारीका विद्यार्थी नेता महेश पातली, लोकमान भन्डारी लगायतलाई घरबाटै बिनाकारण गिरफ्तार गरी शान्तिसुरक्षाको बहानामा झुट्टा मुद्दा लगाएको भन्दै आपत्ति प्रकट गरिएको छ ।
बन्दुकको बलमा गरिने चुनावले देश र जनताको लागि हानिकारक हुने भन्दै कथित लोकतन्त्र फलाक्नेहरुको बन्दुके गणतन्त्र र प्रजातन्त्र उदाङो भएको पनि बिज्ञप्तीमा जनाईएको छ ।
गिरफ्तार नेता कार्यकर्ताको मानअधिकार र जीवन रक्षाको लागिसमेत सरोकारवालाहरुले ध्यान पुर्याउन समेत अपिल गर्दै गिरफ्तार गरिएका सबैको बिनासर्त तुरुन्त रिहाईको माग विज्ञप्तिमार्फत गरिएको छ । आफ्ना पार्टी्विरुद्ध सुराकी नगर्न समेत चेतावनी दिइएको छ ।
त्यस्तै जिल्लाभित्र भएका कतिपय गैरराजनैतिक कार्यसँग नेकपालाई जोडेर बद्नाम गर्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता दुस्प्रचारको खण्डन गर्न पार्टीका नेता कार्यकर्ता्विरुद्ध सुराकी गर्ने जो कसैलाई पनि कारवाही गरेर प्रतिवाद गर्न समेत सेक्रेटरी सत्यले पार्टी पंक्तिलाई निर्देशन गर्नुभएको छ ।
उहाँले त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सरकार हुने पनि प्रस्ट पार्नुभएको छ ।