इटहरी, १४ मंसिर ।
सुनसरीको इटहरीमा आयोजित नेपाली कांग्रेसको चुनावीसभामा बम बिस्फोट भएको छ ।
इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा काँग्रेसले आयोजना गरेको चुनावी कोणसभास्थलमा आज अपरान्ह बम विस्फोट हुँदा चार गम्भीर घाइते भएका छन् ।
काँग्रेस इटहरी–९ ले चुनाव प्रचारप्रसारसँगै मतदातासँग घरदैलो गरिरहेको बेला सभास्थल छेउमै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
बिस्फोटमा परि एक वर्षीय युवन न्यौपाने, १७ वर्षीया समृना अधिकारी, उनकी आमा ३७ वर्षीया निर्मला र काँग्रेसका स्थानीय नेता धनबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
घाइते चारै जनालाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको छ । उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्राले गहिरो चोट लागेको प्रचार कार्यमा संलग्न स्थानीय गोविन्द घिमिरेले बताउनुभयो ।
कार्यक्रम भइरहेको स्थानमा अकस्मात् ठूलो आवाजसहित बम विस्फोट हुँदा कार्यक्रमस्थलमा सहभागीहरुबीच भागदौड भएको थियो ।
बम कसले राखेको हो भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सञ्जय राउतले बताउनु भयो । घटनास्थलको अनुसन्धानका लागि प्रहरीले उक्त क्षेत्र नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो ।