काठमाण्डौ, १३ मंसिर ।
उदयपुरको गढी गाउँपालीका वडा नम्बर ६ दनुवार बेसीमा माईन बम बिस्फोटमा परी गम्भिर घाईते दुई जनालाई काठमाण्डौ ल्याईएको छ ।
निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की र मीरा कटुवाललाई हेलिकप्टरमार्फत काठमाण्डौ ल्याईएको हो ।
घटनामा परी उम्मेदवार कार्की र उनका सहयोगी कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका थिए ।
अन्य घाइतेलाई अर्को हेलिकप्टरले काठमाण्डौ ल्याउने डिएसपि मेघराज अधिकारीले जानकारी दिनुभयो । उम्मेदवार कार्की र कटुवालको अवस्था अन्यको भन्दा गम्भिर रहेकाले पहिले पठाईएको उहाँले मिर्मिरेलाई जानकारी दिनुभयो ।
केहिबेर अघि मात्रै हेलिकप्टरमा उनीहरुलाई काठमाण्डौ ल्याईएको हो । अन्य दुई घाईतेलाई लिन फेरी काठमाण्डौबाट अर्को हेलिकप्टर जाने तयारी गरिरहेको डिएसपि अधिकारीले जानकारी दिनुभयो । उनीहरुको टिचिङ अस्पतालमा उपचार हुने छ ।