नवलपरासी, मंसिर १३ ।
नवलपरासीको बर्दघाट सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–६ बरूवामा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुदा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली कांग्रेस मध्यबिन्दु नगर सभापति दोमनबहादुर भण्डारी, नुमाकान्त भण्डारी, अरूण भण्डारी र नेकपा एमाले मध्यबिन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेल, घनश्याम पौडेल, विजय भुर्तेल लगायतका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
घाइतेमध्ये एमाले मध्यविन्दु नगर कमिटी उपाध्यक्ष दुर्गा भुर्तेलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य सबैको टाउकोमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
चुनावी प्रचारप्रसार अभियान सकेर घर फर्कदै गरेका वाम गठबन्धनका कार्यकर्तामाथि आक्रमण भएको वाम गठबन्धनको भनाई छ ।
कांग्रेस कार्यकर्ताले पनि एमालेका कार्यकताले पहिले आफूहरुलाई हातपात गरेको आरोप लगाएका छन् । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।