१२ मंसिर,पोखरा ।
पोखराका २ पत्रकार गिरफ्तार परेको १ घण्टामै रिहा भएका छन् ।
समाचार कक्षमा काम गर्दागर्दै गिरफ्तार परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि रिहा गरेको छ ।
पोखराको महेन्द्रपुलस्थित जन सञ्चार डटकमको कार्यालयबाट गिरफ्तार परेका पत्रकार ओम हमाल र रमाकान्त बास्तोला नेपाल पत्रकार महासंघ कास्की र क्रान्तिकारी पत्रकार संगठन नेपालको पहलमा रिहा भएका हुन् । हमाल जनसंचार डटकमका संचालकरसम्पादक र जनता टेलिभिजनका पोखरा सम्बाददाता हुन् भने बास्तोला सोही अनलाइनका सह सम्पादक तथा रातो खबर साप्ताहिकका गण्डक ब्यूरो प्रमुख हुन् ।
जन सञ्चार डटकमको न्युज डेस्कमा बसेर काम गरिरहेका पत्रकार हमाल र बास्तोलाई मंगलबार दिउँसो प्रहरीले अचानक गिरफ्तार गरेको थियो । लगत्तै प्रेस स्वतन्त्रताको धज्जी उडाउदै पत्रकारहरुलाई गिरफ्तार गरेको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालले गम्भीर आपत्ति जनाएको थियो ।
पत्रकारहरुलाई गिरफ्तार गर्ने आफुहरुको कुनै उदेश्य नरहेको भन्दै कास्की प्रहरीले झुक्किएर उनीहरुलाई गिरफ्तार गर्न पुगेको बताएको छ ।
गलत सूचनाका आधारमा प्रहरीले पत्रकारहरुलाई गिरफ्तार गर्न पुगेको बताइएको छ । रिहाइपछि पत्रकार बास्तोलाले आफु सकुशल रिहा भएर जन सञ्चार डटकमको कार्यालय पुगेको बताएका छन् ।
हमाल क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सचिवालय सदस्य समेत हुन । पछिल्लो समय देउवा सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठ्दै देशभरबाट ८ जना पत्रकारहरुलाई गिरफ्तार गरेर हिरासतमा राखेको छ ।