अछाम । माओवादी केन्द्रका युवा नेता तथा जिल्लाको २ नम्बर निर्वाचनको प्रदेश सभाको (क)का उम्मेदवारी अक्कल रावलले आफ्नो क्षेत्रका मतदाताको नाममा मार्मिक पत्र लेखेका छन् ।
चुनाव प्रचार अभियानमै रहेका उम्मेदवार रावलले पत्रमा सबैको घरमा पुग्न नसेकोमा दुःख लागेको भन्दै चाहना हुँदाहुँदै पनि समय अभावका कारण सबैको घर अाँगनमा पुग्न सम्भव नभएको उल्लेख गरेका छन् । उनले आफ्नो जीवनको लामो समय जनताको सेवा र अधिकारकै लागि बितेको र बाँकी जीवन पनि जनताकै सेवामा लगाउने बताएका छन् ।
जनताकै सेवाको लागि जनयुद्धमा होमिएको बताउँदै रावलले जनताकै मायाले गर्दा पटक पटक मृत्युको मुखमा पुगेर बाँचेका बताएका छन् । जनताको दुःख र सुख भन्दा आफ्ना ध्यान अन्त नजाने बताउँदै रावलले सबै मतदातासँग भोट दिन आग्रह समेत गरेका छन् ।
यस्तो छ उनले मतदाताको नाममा लेखेको पत्र
आदरणीय मतदाता,
सर्वप्रथम यहाँ र सम्पूर्ण परिवारको सु–स्वास्थ्यको कामना गर्छु । चुनावअघि नै तपाईंको घर आँगनमै आएर तपाईंसँग सुःखदुःखको कुरा गर्ने मन नभएको होइन तर छोटो समयमा नै सबै ठाउँमा पुग्न सम्भव भएन । यो बाध्यतालाई यहाँले बुझिदिनु हुने नै छ । विजय भएपछि तपाईंको घर आँगनमा आउने नै छु ।
म लामो समयसम्म तपाईँहरुको सेवामा आबद्ध रहें । जब ५० को दशकको सुरुतिर देश परिर्वतनका लागि जनयुद्धमा होमिएँ । तपाईंहरुकै मायाले होला पटकपटक मृत्युको मुखमा पुगेर पनि बाँचेँ ।
मेरो जीवनको ठूलो हिस्सा जेलनेल र तपाईँहरुको सेवामा नै बितेको छ । यस क्षेत्रको दुःख–सुखसँग एकाकार हुने चाहनाले गर्दा अन्य विकल्पतिर मेरो ध्यान जानै सकेन । बाँकी जीवन पनि यस क्षेत्रकै समुदायको हकहितका लागि बिताउने संकल्पका साथ यसै पत्रमार्फत् तपाईंको अमूल्य मतको अपेक्षा गरेको छु । आशा छ, तपाईंले आफ्नो परिवारका सदस्यहरु, आफन्तजन, मित्रहरुलाई पनि प्रेरित गर्नु हुनेछ ।
मैले समृद्ध अछामको सपना देखेको छु । ती सपना कार्यान्वयन गर्न सक्ने भरपर्दा आधार छन् । मसँग सिङ्गो जिल्ला र यो क्षेत्रलाई समुन्नत बनाउने स्वार्थ मात्र छ । म सदा तपाईंहरुप्रति जवाफदेही हुनेछु । आर्थिक र भौतिक सवाललाई मात्र होइन, सूचना र निर्णय प्रकृयालाई समेत पारदर्शी बनाउने छु ।
म खुल्ला किताब हुँ । मेरा प्रयत्नहरु न्यायपूर्ण विकासलाई सार्थकता दिनेतर्फ हुने छन् । म तपाईंले प्रदान गर्नु भएको जिम्मेवारीलाई तल–माथि हुन दिन्न । मतदानको माध्यमबाट तपाईंले ममाथि गर्नु भएको विश्वासमाथि हरदम गर्व गर्नसक्ने वातावरण निर्माणमा तल्लिन रहने छु ।
यो सिङ्गो क्षेत्रको समग्र विकासको लागि यही मंसिर २१ गते हुने निर्वाचनमा अछाम क्षेत्र न २ प्रतिनिधि सभामा यज्ञ बोगटीलाइ सूर्य चिन्हमा र अछाम क्षेत्र न २ को क मा मलाई गोलाकार भित्रको हँसिया हथौडा र क्षेत्र न २ को (ख) मा बलबहादुर सोडारीलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।
तपाईंको सदा भलो चिताउने !
अकल रावल
उम्मेदवार, प्रदेश सभा सदस्य
अछाम क्षेत्र नम्बर २ (क)