८ मंसिर,बाजुरा । निर्वाचन मिति नजिकिँदै जाँदा झडप र हिंसाका घटना पनि बढिरहेका छन् । यसैबीच नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्तामाथि खुकुरी र बञ्चरोलगायतका घरेलु हतियार प्रहार गरेका छ्न् ।
बाजुराको बुढीगंगा नगरपालिका–१ मा बिहीबार विहीबार राति एमाले कार्यकर्ताले लुकेर आक्रमण गदै काँग्रेसका ६ कार्यकर्ता घाइते भएका भने ३ जना वेपत्ता भएका छन् ।
प्रहरीका अनुसार आक्रमण परी बुढीगंगा नगरपालिका–१ का स्थानीय कृष्णबहादुर थापा, अम्म थापा, ललित थापा, गोपाल थापा, गोरे सनाइ र लाल नेपाली घाइते भएका छन् । त्यस्तै डम्बर थापा, रमेश नेपाली र किसन नेपाली बेपत्ता भएका छन् ।
घाइतेमध्ये कृष्ण थापा र अम्म थापाको अवस्था गम्भीर छ । कृष्ण थापा सोही वडामा रहेको शिक्षक हुन् भने ललित स्थानीय तहको निर्वाचित वडा सदस्य हुन् ।
आक्रमणकारीले कृष्ण थापाको मोबाइल, डायरी, ज्याकेट र नगद ५ हजार ५ सय रुपैयाँ एमालेका कार्यकर्ताले लुटेर लगेको बताइएको छ ।
नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार कविराज पण्डितको घरबाट काँग्रेस कार्यकर्ता फर्किने क्रममा धुरालसैन मावि नजिकै पुग्दा एमालेका कार्यकर्ताले पछाडीबाट आक्रमण गरेको नेपाली काँग्रेस बाजुराले बताएको छ ।
एमाले–माओवादी केन्द्रका साँझा उम्मेदवार लालबहादुरको निर्देशनमा ४० जनाको समूहले आक्रमण गरेको काँग्रेस सभापति कविराज पण्डितले अारोप लगाएका छन् ।