काठमाण्डौ , ७ मंसिर ।
आगामी आइतबार हुन लागेको पहिलो चरणको प्रतिनिधि तथा प्रदेशसभा सदस्यका निर्वाचनका लागि प्रदेश नम्बर ७ मा नेपाल–भारत सीमा नाका आज रातिदेखि ७२ घण्टा बन्द हुने भएको छ ।
पहिलो चरणमा हुने चुनावमा भारतसँग सीमा जोडिएका बैतडीका झुलाघाट र दार्चुलासँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द हुने भएको हो ।
चुनावको समयमा सुरक्षालाई प्रबन्ध मिलाउन आजराति १२ बजेदेखि झुलाघाट नाकाबाट आवतजावत बन्द गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।
उहाँले चुनावी सुरक्षालाई मध्यनजर गरेर ७२ घण्टा सीमा बन्द गर्ने सहमति यसअघि नै दुईदेशका सुरक्षा अधिकारीबिच भइसकेको भन्दै बिरामी बाहेकका सबैलाई त्यो बेला नाकाबाट आवतजावत गर्न नदिइने बताउनुभयो ।
मंसिर १० गते राति १२ बजेसम्मका लागि सीमा नाका बन्द हुनेछ । सीमानाकामा साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइने छ ।