जनताकै आँगनबाट सिक्ने र सिकाउने जनवादी गायक पाख्रिन ,अन्तिम क्षणमा यस्ताे थियाे शन्देश

जनताकै आँगनबाट सिक्ने र सिकाउने जनवादी गायक पाख्रिन ,अन्तिम क्षणमा यस्ताे थियाे शन्देश

  • बुधबार, मंसिर ६, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.6K
    SHARES

‘नेताले मात्रै हुँदैन, विश्व बदल्ने शक्ति युवा शक्ति नै हुन् । तिनै युवा शक्तिले साथ दिनुपर्छ । संसारका ठूला विद्रोह र आमूल परिवर्तनीय क्रान्ति युवा शक्तिले नै भएको छ ।’ मञ्चमा उक्लिएर यति भनेपछि खाली समयको सदुपयोग गर्दै जनवादी गायक खुसीराम पाख्रिनले प्रगतिशील गीत गाउन थाल्नुभयो ।

युवाहरु हो देश तिम्रै हो, भविष्य तिम्रै हो,
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो

करिब दिउँसोको २ बज्न लाग्दै थियो । गीतसंगीतको तालमा शरीर हल्लाउँदै गीत गाउँदै हुनुहुन्थ्यो जनवादी गायक ६५ वर्षीय पाख्रिन । गीतसंगीतको तालमा देखिएको उहाँको प्रस्तुतिमा युवा जोश भरिएको थियो । वृद्ध भए पनि तन्नेरी झैं हातको हाउभाउमा गीत पस्कँदा दर्शक बनेर आएका नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ता पनि उत्साहित देखिन्थे ।

मंगलबार भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली चौरमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’का छोरा प्रकाशको श्रद्धाञ्जलिसभा राखिएको थियो । मध्याह्न १२ बजे नेकपा (एमाले) अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आउने कार्यक्रम केही ढिला भएपछि उहाँले मञ्च पाउनुभएको थियो । खाली समयको सदुपयोग गर्दै हुनुहुन्थ्यो पाख्रिन ।

हजाराैको बलिदानले कालोयुग ढलेको छ
सिर्जना र समृद्धिको बाटो खुल्न थालेको छ ।

केही बेर मच्चिएरै गीत गाउनुभयो उहाँले । फुर्तिलो देखिनुभएका पाख्रिनका शरीरमा कुनै विमारको छनक थिएन ।

युवा तिम्रो काँधमा आयो देश बचाउने अभिभारा
छाती खोली अघि बढ्ने अब तिम्ले हिम्मत गर ।

केहीबेरको प्रस्तुति सकेपछि औपचारिक कार्यक्रममा आशनग्रहण गरेलगत्तै उहाँ अस्वस्थ हुनुभएको थियो । ‘एक्कैछिनमा टाउको दुख्यो भन्दै निस्कनुभयो, तत्कालै २ः५५ बजे अस्पताल पु¥याइएकामा केही समयपछि नै चिकित्सकले मृत घोषणा गरे’, ज्वाइँ प्रताप गुरुङले घटनाबारे जानकारी दिनुभयो ।

नारायणी सामुदायिक अस्पतालका अनुसार माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार तथा जनवादी गायक पाख्रिन हृदयाघात भई मृत्यु भएको हो । यति जोशका साथ गीत गाइरहेका पाख्रिनको एकैछिनमा मृत्युको खबर आउँदा शुभचिन्तकहरु स्तब्ध भए ।

एकजना शुभचिन्तक मानबहादुर स्याङबोले भन्नुभयो, “पत्याउनै नसकिने घटना भयो । हुन त केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाशको पनि यसैगरी अप्रत्याशित रुपमा मृत्यु भएको थियो ।”

उनकै श्रद्धाञ्जलि सभाका क्रममा गीत गाएका पाख्रिन एक्कासि निधनको खबरले शुभेच्छुकहरु स्तब्ध हुनु स्वाभाविकै हो । आज ओली र प्रचण्डले भरतपुरमा उहाँको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

कहिल्यै मिडिया नखोज्ने गायक पाख्रिन 

विसं २००९ कात्तिक ९ गते गोरखाको खरिबोटमा जन्मिनुभएका पाख्रिन प्रगतिशील र सांस्कृतिक अभियानका अगुवा हुनुहुन्थ्यो । झण्डै ५०० गीत रहेको उहाँको करिब २०० गीत प्रकाशित र संगीतबद्ध नै भएको अनुमान गर्नुहुन्छ गायक हरि योञ्जन ।

उहाँका अनुसार शुरुआती कालदेखि नै गीतसंगीतमा रुचि राख्ने पाख्रिन २०३५ सालदेखि औपचारिक गीतसंगीतमा लाग्नुभयो । अहिलेसम्म कुनै मिडिया खोजेर उहाँले प्रचार गर्नु भएन । जनताकै घरदैलोमा रमाउने र जनताकै सुखदुःख र मुक्ति आन्दोलन तथा परिवर्तनको क्षेत्रमा उहाँको योगदान छ । विसं २०३८ मा उहाँले ‘सगरमाथाको काखबाट’ भन्ने प्रगतिवादी गीत औपचारिक रुपमै ल्याउनुभयो ।

‘गैती बेल्चा उचालेर, पहरालाई छिचोलेर’ भन्ने गीत उहाँको निकै चर्चित भएको अनुभव सुनाउनुहुन्छ गायक योञ्जन । योञ्जनले धेरै गीत उहाँसँग गाउनुभएको छ । योञ्जन जनवादी संस्कृतिक मोर्चामै छँदा पाख्रिन पूर्णकालीन प्रगतिशील सांगीतिक क्षेत्रमा लाग्नुभएको थियो ।

कालो वनको बीचैमा खेतालाको गाउँ
सानासाना झुपडी, छैन आमाबाबु ।

मजदुरको वास्तविक अवस्थालाई शब्दमा उतारेर उहाँले सांस्कृतिक आन्दोलन नै अघि बढाउनुभयो । त्यो मात्रै होइन, पाख्रिनको महिला अधिकार र मुक्तिको अभियानमा समेत उत्तिकै योगदान रहेको योञ्जन बताउनुहुन्छ ।

हामी चेली विरानो गाउँमा
नौ डाँडा पारि
सम्झेर आमालाई रुन्छिन् धरधरी ।

महिला केन्द्रित यो गीतले त्यो समयमा चर्चा पाएको थियो । उहाँको गीतमा क्रान्ति, साहस र मुक्तिका कुरा छन् । शुरुमा वेदना सांस्कृतिक समूहमा रहेका उहाँ जनवादी सांस्कृतिक हस्ती हुनुहुन्थ्यो । सामना सांस्कृतिक परिवारका संस्थापक पाख्रिनका गीत अहिले पनि जीवन्त रहेको शुभचिन्तक संगीता भट्टराई बताउनुहुन्छ ।

अर्का गायक चेतन सापकोटा पाख्रिन जनवादी गीतसंगीतका भीष्मपितामह रहेको बताउनुहुन्छ । “मिडिया कहिल्यै खोज्नु भएन, खाली जनताका लागि मात्रै गाउने गर्नुहुन्थ्यो,” सापकोटाले भन्नुभयो, “बिना मिडिया टोलटोलमा जागरण ल्याउने जनताले बनाएको गायक हुनुहुन्थ्यो पाख्रिन ।” उहाँका अनुसार जनताकै आँगनमा सिक्ने र सिकाउने भएकाले अरू कतिपय गायक मिडिया प्रचारबाट गायक बने पनि उहाँ जनताको आँगनबाट बनेका गायक हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी