५ मंसिर, काठमाडौं ।
पहिलो चरणको निर्वाचनको मुखैमा सरकारले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको व्यापक सरुवा गर्न थालेको छ ।
कैलाली, नुवाकोट लगायतका जिल्लामा प्रहरी प्रमुख फेरिए लगत्तै सरकारले सिडिओहरुको सरुवा शुरु गरेको हो ।
गृहमन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शेरवहादुर देउवाको ठाडो आदेशमा हिज राति नै पहिलो चरणमा चुनाव हुने जिल्लाका सिडिओ सरुवा भएको छ । गृहमन्त्रालयको कार्यभार समेत देउवा आफैंले सम्हालेका बेला चुनावलाई प्रभावित पार्ने गरी प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन ।
पहिलो चरणमा चुनाव हुने भोजपुर, सोलुखुम्बु, रसुवा र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सरुवा भएका छन् ।
त्यस्तै, भोजपुरमा चेतराज बरालको ठाउँमा फणिन्द्र दाहाललाई सिडिओ बनाएर पठाइएको छ ।
स्रोतका अनुसार रसुवाकी प्रमुख जिल्ला अधिकारी हरिदेवी पौडेलको ठाउँमा चोमेन्द्र न्यौपानेलाई पठाइएको छ । कांग्रेस नेताहरुको दबाबमा नुवाकोटमा जगदिशराज बराललाई हटाएर वीरेन्द्रकुमार यादवलाई पठाइएको छ ।
अझै केही जिल्लाका सिडिओ हेरफर गर्ने गृहकार्य चलिरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।