काठमाडौ ४ मंसिर ।
तेह्रथुमको लालीगुराँस नगरपालिका–१ टुटेमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका–३ र तेह्रथुमको लालीगुराँस नगरपालिका–१ को सीमा टुटेबजारमा अज्ञात समुहले शंकास्पद वस्तु फेला परेको हो ।
बसन्तपुर बजारको टुटेमा रहेको मकालु वाईन इन्डष्ट्रिजतर्फ जाने बाटोको कल्भर्टमाथि विस्फोटक पदार्थ सहितको झोला, तार र विस्फोट गराउन प्रयोग हुने ब्याट्री फेला परेको ईलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।
विस्फोटक पदार्थ राख्नेको पहिचान हुन सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश कोइरालाले बताउनुभयो ।
यसैबीच बाराको जितपुर– सिमरा उपमहानगरपालिका–१ जिल्ला वन कार्यालय पछाडि राधाकृष्ण ठकुरीको घर अगाडि पार्किङ गरिराखेको जिपमा अज्ञात समूहले बम विस्फोट गराएका छन् ।
नेपाली कांग्रेसका बारा ४ का प्रदेशसभाका उम्मेदवारको गाडीमा बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो ।
निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा सदस्यका उम्मेदवार ओमकृष्ण कार्कीको चुनाव प्रचारको बा १४ च ६३३० नं को जिपमा विस्फोट भएको हो ।