काठमाडौ ४ मंसिर ।
उमेदवारमाथि आक्रमणका घटना बढ्न थालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज चुनावी सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा सुरक्षा निकाय प्रमुखसँग छलफल गर्दै हुनुहुन्छ ।
चुनावी प्रचारका लागि कैलालीको धनगढी पुग्नु भएका प्रधानमन्त्री देउवा काठामाडौ फर्के लगत्तै सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आवश्यक निर्देशन दिने तयारी गर्नुभएको उहाँका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवा बिहान साढे १० बजे कैलालीबाट काठमाडौं आउँदै हुनुहुन्छ । पछिल्लो समय उमेदवारहरुको असुरक्षा बढेसँगै त्यसलाई नियन्त्रण गर्न आवश्यक पर्ने जस्तोसुकै कदम चाल्न पनि सुरक्षा निकायलाई निर्देशन दिने प्रधानमन्त्रीको तयारी छ ।
यसैबीच आजै निर्वाचन सुरक्षा तथा आवशयक रणनितिबारे छलफल गर्न आजै गृह मन्त्रालयमा मध्यमाञ्चल स्तरीय सुरक्षा गोष्ठि पनि हुँदैछ ।
गोष्ठिमा सवै सुरक्षा निकायका प्रमुख तथा मध्यमाञ्चल क्षेत्रका प्रमुख जिल्ला अधिकारीहरुको सहभागीता रहने जनाइएको छ । यस्तै काठमाडौ फकिए लगत्तै प्रधानमन्त्री देउवाले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशप्रति श्रद्धाञ्जली दिन प्रचण्ड निवास जाँदै हुनुहुन्छ ।
आइतबार सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका प्रधानमन्त्री देउवाले आज प्रचण्डलाई भेटेरै समवेदना दिन लाग्नु भएको हो । देउवा काठमाडौं आएलगत्तै लाजिम्पाट जाने उहाकोे सचिवालयले जनाएको छ ।