दोलखा , ३ मंसिर ।
निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत मुख्य सुरुङ निर्माण कार्य सकिएको छ । दोलखाको लामाबगरमा निर्माणधिन आयोजनाको ८ दशमलव ५ किलोमिटरको मुख्य सुरुङको ब्रेक थ्रु गर्न सफल भएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान साढे ८ बजे मुख्य सुरुङको ब्रेक थ्रु भएको न्यौपानेले बताउनुभयो ।
’मुख्य सुरुङको काम सकिएपछि हाम्रो ९२ प्रतिशत काम पूरा भएको उहाँले बताउनु भयो ।
स्वदेशी लगानीमा २०६८ बाट निर्माण शुरु गरिएको आयोजना २०७४ असारसम्म सम्पन्न गर्नुपर्ने भएपनि भुकम्प र तत्कालिन नाकाबन्दीका कारण पर धकेलिएको हो । प्रारम्भिक लागत ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएपनि निर्धा्रित समयमा सम्पन्न नभएपछि आयोजनाको कुल खर्च बढेर ४१ अर्ब ७२ करोड रुपैयाँसम्म पुग्न सक्ने प्रक्षेपण गरिएको छ ।
पछिल्लो समय पुष्पलाल मार्गको लामोसाँघु–जिरी सडकखण्ड स्तर वृद्धिका कारण हेब्वी वेट भएका सामान ढुवानीमा समस्या परेको र कामदार समेत अभाव रहेकोले निर्धा्रित समयमै सम्पन्न गर्न समस्या पर्ने न्यौपानेले बताउनुभयो ।
पछिल्लो पटक आयोजनाको म्याद आगामी असार मसान्तसम्म तोकिएपनि सो समयभन्दा थप ६ महिना समय लाग्ने प्रवक्ता न्यौपानेको भनाइ छ ।
अन्य केही अवरोध नआए आयोजनाको सम्पूर्ण निर्माण कार्य २०७५ सालको असोज कार्तिकसम्ममा सम्पन्न गरी मंसिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य आयोजनाको रहेको न्यौपानेको भनाई छ ।