चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै , कुनले कहिले जारी गर्दै छन् ?

चार जलविद्युत् आयोजना साधारण शेयर जारी गर्दै , कुनले कहिले जारी गर्दै छन् ?

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.3K
    SHARES

काठमाडौंँ, २ मंसिर ।आफ्नै लगानीमा सन्चालित चार महत्वपूर्ण जलविद्युत् आयोजनाले निकट भविष्यमा साधारण शेयर जारी गर्ने भएका छन् ।
माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजनाले साधारण शेयर जारी गर्ने तयारी गरेका हुन् । साधारण शेयर जारी गर्ने तयारीमा रहेका आयोजना स्वदेशी लगानीमा नै निर्माण भइरहेका छन् ।
नेपाल धितोपत्र बोर्डमा आवेदनका आधारमा साञ्जेन जलविद्युत् आयोजनाले सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ । सो आयोजनाले रु ८७ करोड ६० लाख बराबरको ८७ लाख ६० हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।
उक्त कम्पनीले माथिल्लो साञ्जेन र साञ्जेन गरी दुई जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कूल क्षमता ५७.३ मेगावाट रहेको छ । सो कम्पनीको साधारण शेयर नागरिक लगानी कोषमार्फत बिक्री गरिनेछ ।
चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर लिमिटेडले पनि आगामी एक महिनाभित्र सीमित साधारण शेयर जारी गर्ने तयारी गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलगत्तै सो आयोजनाले सीमित साधारण शेयर जारी गर्ने छ । कूल १११ मेगावाट क्षमताको सो आयोजनाले साधारण शेयर जारी गर्ने प्रयोजनका लागि धितोपत्र बोर्डमा गत वैशाख १३ गते नै आवेदन दिइसकेको छ ।
आयोजनाका प्रमुख माधव कोइरालाकाअनुसार साधारण शेयर जारी गर्ने प्रक्रिया अन्तिमचरणमा पुगेको छ । पहिलोचरणमा बिक्री गर्न लागिएको शेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरण र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीले खरिद गर्न पाउने व्यवस्था छ ।
शेयर संरचनाअनुसार कोषका पाँच लाख सञ्चयकर्ता लागि १९.५ प्रतिशत, प्राधिकरणका लागि ३.५ प्रतिशत र सञ्चयकोषमा कार्यरत कर्मचारीका लागि १ प्रतिशत शेयर बिक्री गरिनेछ । पहिलो चरणमा रु एक अर्ब ६४ करोड २१ लाख ४० हजार बराबरको एक करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर निष्काशन गरिनेछ ।
यस्तै आयोजना प्रभावित रसुवालीका लागि १० प्रतिशत र आम नेपालीका लागि १५ प्रतिशत शेयर बिक्री गर्ने गरी तयारी गरिएको छ । कम्पनीले सिद्धार्थ क्यापिटल, एनआइबिएल, ग्लोबल आइएमइ र एनसिएम मर्चेन्ट बैंकिङमार्फत साधारण शेयर बिक्री गर्नेछ ।
त्यस्तै, राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले पनि आगामी माघको पहिलो साता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ ।
आयोजनाले सर्वसाधारणका लागि रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्ने तयारी गरेको छ ।
आम नेपालीका लागि कूल शेयरको १५ प्रतिशत, आयोजना प्रभावित दोलखाका जनताका लागि छुट्याइएको १० प्रतिशत साधारण शेयरसमेत आगामी माघमा नै बिक्री गरिनेछ । स्थानीयवासीले दोलखाका सहकारी संस्थामार्फत पनि शेयर खरिद गर्न सक्नेछन् ।
आयोजनाले प्रभावितका लागि जारी पुँजीको १० प्रतिशत अर्थात एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता शेयर बिक्री गर्नेछ ।
कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माणको काम ९२ प्रतिशत सम्पन्न भएको छ । आगामी आइतबार सुरुङसमेत ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको भौतिक प्रगति ९४ प्रतिशतको हाराहारीमा पुग्ने बताइएको छ ।
आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीमध्ये भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले पनि रु दुई अर्ब ९४ करोड बराबरको साधारण शेयर जारी गर्ने तयारीलाई अन्तिमचरणमा पु¥याएको छ । कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ ।
पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि रु एक अर्ब १७ करोड बराबरको एक करोड सत्र लाख कित्ता शेयर, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि रु २१ करोड बराबरको २१ लाख कित्ता शेयर र ऋणदाता संस्थाका कर्मचारीका लागि रु ६ करोड बराबरको ६ लाख कित्ता शेयर जारी गर्ने तयारी गरिएको छ ।
दोस्रोचरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाका लागि रु ६० करोड बराबरको साठी लाख कित्ता साधारण शेयर जारी गरिने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी