उत्कृष्ट १५ करदातालाई सम्मान

उत्कृष्ट १५ करदातालाई सम्मान

  • शनिबार, मंसिर २, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ, १ मंसिर ।
सरकारले आर्थिक वर्ष २०७२÷७३ मा विभिन्न विधामा सबैभन्दा बढी राजश्व दाखिला गर्ने १५ करदातालाई सम्मान गरेको छ ।
सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सूर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसी तथा निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजिज प्रालिका वरिष्ठ वित्त व्यवस्थापक सन्तोष कोइरालालाई सम्मान गरिएको हो ।
त्यसैगरी, उद्योगमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने हिमाल पावर लिमिटेड, कृषि एवं पशुपक्षीजन्य उद्योगमध्ये आयकर तिर्ने करदाता राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, सहकारी संस्थामध्ये सबैभन्दा बढी कर तिर्ने करदाता राष्ट्रिय सहकारी बैंक र बैंक तथा वित्तीय संस्था तथा लघु वित्तमध्ये हिमालय बैंक लिमिटेडलाई सम्मान गरिएको छ ।  बीमातर्फ नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवातर्फ त्रियोग उच्च मावि, सूचना प्रविधि सेवातर्फ वल्र्ड कम्युनिकेसन प्रालि, पर्यटन व्यवसायतर्फ टाइगर टप्स प्रालि, व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालिले सबैभन्दा बढी कर तिरेका छन् ।  त्यसैगरी, रु पाँच करोडसम्मको कारोबार भएकामध्ये सबैभन्दा बढी कर तिर्ने साना करदाता डा उपेन्द्र देवकोटा, रु ४० करोडसम्मको कारोबार भएका मझौला करदातामध्येबाट सबैभन्दा बढी कर तिर्ने गोर्खा डेभलपमेन्ट बैैंक, व्यक्तिगत आयकरमध्ये सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्शेर र समयमै कर बुझाउने पवनकुमार इन्टरनेशनललाई पनि सम्मान गरिएको हो ।
विभागमा कार्यरत उत्कृष्ट दश कर्मचारीलाई जनही रु पाँच हजार प्रदान गरिएको थियो भने कर दिवसका अवसरमा आयोजित निबन्ध प्रतियोगिताका विजेता एलिसा लामिछाने र कविता प्रतियोगिताका विजेता अस्मिता मरासिनीलाई रु २५ हजार नगद प्रदान गरिएको थियो ।  हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः करदाता सेवा कार्यालय न्यूरोड, आन्तरिक राजश्व विभाग लाजिम्पाट र आन्तरिक राजश्व कार्यालय बबरमहललाई पनि पुरस्कार वितरण गरिएको थियो ।
छैटौँ राष्ट्रिय कर दिवस मनाउने सिलसिलामा आयोजित कार्यक्रमका सहभागीले समृद्धिका लागि अधिकतम स्रोत परिचालन गर्न कर प्रशासनको सबलीकरणमा जोड दिएका हुन् ।
मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकलाई सन् २०२२ भित्र अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका साथै दिगो विकासको लक्ष्य हासिल गर्दै सन् २०३० भित्र मध्यम आय भएको मुलुकको कोटीमा पु¥याउनुपर्ने अभिभारा सरकारमा रहेको बताउनुभयो ।
उक्त लक्ष्य प्राप्तिका लागि मुलुकमा ठूलो आर्थिक स्रोत परिचालन आवश्यक भएको उहाँले बताउनुभयो । उहाँले मुलुकको कर प्रशासनलाई सबल र सक्षम बनाउँदै लगिने जानकारी पनि दिनुभयो ।
त्यसैगरी, अर्थसचिव शंकरप्रसाद अधिकारीले मुलुकले लिएको लक्ष्य पूरा गर्न लगानी, उत्पादन, रोजगारी, आय तथा बचतमा अभिवद्धि गर्ने र व्यावसायिक वातावरण सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
कर दिवस समारोहका अध्यक्ष तथा राजश्व सचिव शिशिरकुमार ढुंगानाले संविधानले निर्दिष्ट गरेको आर्थिक समृद्धि हासिल गर्न अधिकतम कर परिचालन आवश्यक भएको धारणा राख्नुभयो । आन्तरिक राजश्व विभागका महानिर्देशक किशोरजंग कार्कीले मुलुक संघीयतामा प्रवेश गरिसकेको सन्दर्भमा कर प्रशासनलाई सरल र सहज बनाउँदै लगिने जानकारी दिनुभयो ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छा तथा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले करको दायरा बढाउन करदातामैत्री नीति तथा कार्यक्रम आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा स्मारिका र विभागको वार्षिक प्रतिवेदन लोकार्पण गरिएको थियो । केन्द्रीय विजक अनुगमन प्रणालीका प्रथम सहभागी सिप्रदी ट्रेडिङका कार्यकारी निर्देशकलाई प्रमाणपत्र वितरण गरिएको थियो । कर दिवस मनाउने क्रममा सरकारले आज बिहान प्रभावफेरी कार्यक्रम गरेको थियो । यो वर्षको नारा ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी