२९ कात्तिक,गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई जनयुद्धका उच्च नेतृत्वकर्र्ता हुन् ।
समयको प्रवाहसँगै दुवै जना अहिले फरक पार्टीको नेतृत्व गरिरहेका छन् । दुइटै पार्टी जनयुद्धको विरासतबाट टाढा पुगेको अवस्थामा छन् । जनयुद्धको नेतृत्व गरेको पार्टीलाई विसर्जन गरेर संसदीय व्यवस्थाअनुकूल पार्टी बनाएका छन् । त्यही पार्टीको नेतृत्व गर्दै दुवै जना संसदीय व्यवस्थालाई स्वीकारेको शासनप्रणालीको चुनावमा भाग लिइरहेका छन् । उनीहरु चुनावी सभा, भाषण गरिरहेका छन् । जनतासँग भोट मागिरहेका छन् ।
यसैबीच बुधबार मात्र डा. भट्टराई उम्मेदवार उठेको गोरखामा पुगेर प्रचण्डले उनीविरुद्ध होच्याएर अभिव्यक्ति दिए । भट्टराईलाई यतिसम्म भने कि ‘घर न घाटको पात्र’को संज्ञा दिए । र, उम्मेदवारी फिर्ता लिन भने । ‘नयाँ शक्ति सकियो’ सम्मन भन्न भ्याए ।
‘बाबुरामजीलाई मैले २५ वर्षदेखि बाबुरामजीलाई बचाउँदै–बचाउँदै ल्याएँ । जोगाउँदै जोगाउँदै ल्याएको थिएँ । धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई अब चाहिं जोगाउन सकिएन’ भने ।
जोगाउन नसकेकोमा पछुतो समेत लागेको प्रचण्डको भनाई छ । ‘माया लागेर मात्र हुँदो रहेनछ’ उनले भाषणमै भने । तर डा. भट्टराई प्रचण्डले जनताको एजेण्डा छोडेर विचलन भएकोले आफूले देश जनताको समृद्धिको लागि नयाँ शक्ति पार्टी गठन गरेको बताउँदै आएका छन् ।