२७ कात्तिक,चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रत्ननगर नगरपालिकाका इन्चार्ज लक्ष्मी न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
पैंतालिस वर्षीय न्यौपानेलाई आइतबार राति सोही नगरपालिका वडा नम्बर १४ स्थित घरैबाट गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा बिनाकारण प्रहरीले गिरफ्तार गरेको परिवारले जनाएको छ ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रहरीले नेकपा नेता तथा कार्यकर्तालाई व्यापक रुपमा गिरफ्तार गर्दै आइरहेको छ । चुनाव खारेजी अभियानअन्तर्गत शान्तिपूर्ण राजनीतिक गतिविधि गर्दै आइरहेको आफ्ना नेता कार्यकर्तालाई राज्यले झुठा अभियोग लगाएर खानतलास र गिरफ्तार गरेको भन्दै नेकपाले आक्रोश व्यक्त गरेको छ ।
इन्चार्ज न्यौपानेको तत्काल रिहाई गर्न नेकपा चितवनले माग गरेको छ । गिरफ्तार, दमन र न्यौपानेलाई झुठा आरोपमा यसअघि १४ दिन हिरासतमा राखेर केही दिनअघि मात्र रिहा भएका हुन् । अहिले उनलाई इलाका प्रहरी कार्यालय टाँडीमा राखिएको जनाइएको छ ।