‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

‘स्मार्ट कार्ड’ दिने सरकारी योजना कार्यान्वयनमा कठिनाइ

  • आइतवार, कार्तिक २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौँ, २६ कात्तिक । 

पाँच वर्षभित्र सेवाग्राहीको मागअनुसार विद्युतीय सवारी चालक अनुमति पत्र ‘स्मार्ट कार्ड’ उपलब्ध गराइसक्ने यातायात व्यवस्था विभागको योजना कार्यान्वयनमा कठिनाइ भएको छ ।

चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तनका लागि लाखौँले राजश्व तिरेका छन् ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिनका लागि मोटरसाइकललाई रू ७००, कार जिपलाई रू एक हजार र ठूला सवारीका लागि रू दुई हजार शुल्क तोकिएको वागमती सवारी चालक अनुमति पत्रको कार्यालयका प्रमुख तेजनारायण यादव राससलाई बताउनुुहन्छ ।

“लाखौँले राजश्व तिरेर ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र लिन प्रतीक्षा गरेपनि दुई लाख ३० हजार मात्र छापिएर आएको छ, मागअनुसार कार्ड नछापिँदा सेवाग्राही प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यता छ, अहिलेसम्म दुई लाख ३० हजारलाई वितरण गरेका छौँ, माग गर्ने एक लाख सेवाग्राही अझै प्रतीक्षा सूचीमा छन्, विभागले मागअनुसार ‘स्मार्ट कार्ड’ उपलब्ध गराउन सकेको छैन”–उहाँ भन्नुहुन्छ ।

‘स्मार्ट कार्ड’ छपाइको काम विभागको केन्द्रीय कार्यालय मीनभवनमा भइरहेको छ । तीनवटा उपकरणबाट कार्ड छाप्ने काम भइरहे पनि मागबमोजिमको आपूर्ति हुननसकेको विभागले जनाएको छ । विभागका महानिर्देशक रूपनारायण भट्टराई ‘स्मार्ट कार्ड’ नेपालका लागि नयाँ प्रविधि भएकाले माग अनुसार छापेर वितरण गर्न नसकिएको स्वीकार्नुहुन्छ ।

विभागले विसं २०७२ मसिर २० गतेदेखि ‘स्मार्ट कार्ड’ को दरखास्त लिन शुरु गरेर पुस ३ गतेदेखि वितरण गर्न थालेको थियो ।

भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीले रू १५ करोडको लागतमा ‘स्मार्ट कार्ड’ छाप्ने तीन वटा लेजर इन्ग्रेडिङ मेसिन, हार्डवेयर सामग्री र एक लाख ६० हजार थान ‘स्मार्ट कार्ड’ छाप्ने कागज ल्याएको थियो ।

हाल यातायातको १३ वटा अञ्चल कार्यालयबाट ‘स्मार्ट कार्ड’ वितरण शुरु भइरहेको छ । कर्णालीमा भने नेपाल टेलिकमले ‘स्मार्ट कार्ड’ वितरण गर्न सक्ने क्षमताको इन्टरनेट सेवा उपलब्ध नगराएकाले ढिला भएको विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो ।

पाँच वर्षभित्रमा हस्तलिखित लगायत अन्य प्रकृतिका चालक अनुमति पत्रलाई ‘स्मार्ट कार्ड’ मा परिवर्तन गर्ने विभागको योजना छ । मागअनुसारको आपूर्ति हुन नसकेकाले पाँच वर्षमा ‘स्मार्ट कार्ड’ वितरणसक्न मुस्किल देखिएको छ । पाँच वर्षमध्ये दुई वर्ष सकिन लागेको छ । बाँकी तीन वर्षमा नवीकरण र नयाँ आउने सबैलाई ‘स्मार्ट कार्ड’ वितरण गर्नु विभागका लागि चुनौती छ ।

‘स्मार्ट कार्ड’ लिन दुई महिनादेखि सबै प्रक्रिया पूरा गरेपनि एकान्तकुनास्थित वाग्मती अञ्चल यातायात कार्यालयले विभागबाट छापिएर आएको छैन भन्दै नदिएको सेवाग्राही नारायण गुरुङ बताउनुहुन्छ । “पटक÷पटक सम्पर्क गर्नु भन्छन्, जहिले सम्पर्क गरेपनि ‘स्मार्ट कार्ड’ छापिएर आएको छैन भन्ने जवाफ पाइन्छ”–उहाँ भन्नुहुन्छ,
‘स्मार्ट कार्ड’ वितरण गर्ने वाग्मती कार्यालयका प्रमुख यादव सेवाग्राही धेरै, सेवा प्रदायक थोरै र छापिएर आउनुपर्ने कार्डकै लागि महिनौ कुर्नुपर्ने भएकाले तोकिएको अवधिमा काम सम्पन्न गर्नु चुनौतीपूर्ण रहेको बताउनुहुन्छ ।

विभागले यसवर्ष पनि ‘स्मार्ट कार्ड’ छाप्न बोलपत्र आह्वान गरेकामा मद्रास सेक्युरिटी प्रिन्टर्सले नौ लाख ६४ हजार अमेरिकी डलरमा छाप्ने जिम्मेवारी पाएको छ । यस पटक सात लाख ५० हजार ‘स्मार्ट कार्ड’ छापिने प्रवक्ता पाण्डे उल्लेख गर्नुहुन्छ ।

अहिले नयाँ निवेदन दिने, प्रतिलिपि लिने र नवीकरण गर्ने सबैलाई ‘स्मार्ट कार्ड’ चालक अनुमति पत्र मात्र दिइएको विभागले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी