काठमाडौं, २६ कात्तिक ।
कर्मचारीलाई घुस खुवाएर वंशजको आधारमा नेपाली नागरिकता लिएका एक चिनियाँ नागरिक जेल चलान भएका छन् । घुस खाएर नागरिकता दिलाउने काठमाडौं महानगरपालिकाका वडा सचिव भने धरौटीमा छुटेका छन् । अर्का एक कर्मचारी फरार भएका छन् ।
तेन्जिङ लामाको नाममा नेपाली नागरिकता र पासपोर्ट बनाउने चिनियाँ नागरिक कुङगा तेन्जिङ भुटियालाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ ।
पक्राउ परेका काठमाडौं महानगरपालिका–११ का सचिव रामप्रसाद पौडेल ७४ हजार धरौटीमा छुटेका छन् । उनी ६ नम्बर वडामा कार्यरत रहेका वेला नागरिकता बनाउन सिफारिस गरेका थिए ।
कुङगालाई नागरिकता बनाउन सहयोग गर्ने नयाँबजारका कर्मा धिन्डुप घले ७२ हजार धरौटीमा छुटेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूलाई तीन साताअघि पक्राउ गरेको थियो । नेपाली नागरिकता लिने चिनियाँ कपडाको व्यापारमा आबद्ध व्यक्ति हुन् । उनको माकलबारीमा घर छ । पाँच लाख रुपैयाँमा आफूले नेपाली नागरिकता बनाएको उनले बताएका छन् ।
नेपाली भनेर जन्मदर्ता गराउने तत्कालिन वडा सचिव युवराज खनाल फरार छन् । खनाल महानगरपालिकाको वातावरण विभागमा कार्यरत कर्मचारी हुन् । उनलाई फरार अभियुक्त बनाई सिआईबीले मुद्दा दायर गरेको थियो ।