काठमाडौँ, २५ कात्तिक ।
उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २३५ औँ हप्तामा आज पशुपतिनाथ मन्दिर अघिको वाग्मती नदी किनार र कैलाश डाँडामा सफाइ गरी आठ मेट्रिक टन फोहर निकालिएको छ ।
गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९५ औँ हप्तामा आज हनुमान घाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
यस्तै रुद्रमती सफाइको १९२ औँ हप्तामा आज रातोपुल–कालोपुल शहीदमार्ग हुँदै ज्ञानेश्वरको आनन्द भैरव मन्दिरसम्म सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन भयो ।
रुद्रमती सफाइ अभियानले भोली बिहान कालोपुलको सार्वजनिक जग्गा मिचेर बनाइएका छाप्रा भत्काउने कार्यक्रम रहेको पनि उपाध्यक्ष गिरीले बताउनुभयो ।
विष्णुमती सफाइको १६३ औँ हप्तामा टोखा नगरपालिका–११ महादेवटार हाइटमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
मनोहरा नदी सफाइको ३३ औँ हप्तामा आज हनुमन्ते र मनोहरा दोभानस्थित नरेफाँट क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन र चक्रपथ सफाइको ३१ औँ हप्तामा नयाँ बसपार्कको आकाशेपुलदेखि गोंगबु चोकसम्म सफाइ गरी १५ मेट्रिक टन फोहर निकालिएको छ ।