राजविराज, २२ कात्तिक ।
आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने उद्देश्यका साथ सुरक्षा सतर्कता बढाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।
जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अति संवेदनशील र ८८ संवेदनशीलको सूचीमा राखेर सुरक्षा सतर्कता बढाइएको उहाँले जानकारी दिनुभयो । सप्तरी क्षेत्र नं १ मा अति संवेदनशील ३२ र संवेदनशील ४८, क्षेत्र नं २ मा कायम भएको ६८ मतदानस्थल नै अति संवेदनशील रहेको प्रहरीले जनाएको छ ।
क्षेत्र नं ३ मा अति संवेदनशील ७७ र संवेदनशील १७ तथा क्षेत्र नं ४ मा अति संवेदनशील ५१ र संवेदनशील २३ रहेको बताइएको छ । जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको भनाइ छ । पार्टी–पार्टीबीच अन्तरद्वन्द्व तथा जिल्लाका अधिकांश मतदानस्थल भारतीय सीमासँग जोडिएका कारण पनि मतदान स्थलमा हुनसक्ने आपराधिक गतिविधिलाई ध्यानमा राखी मतदानस्थल सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।