१८ कात्तिक, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँदरमुडे घटनाका दोषीमाथि कारवाही गर्ने बताउनुभएको छ ।
चितवनको माडीमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले सत्यनिरुपण तथा मेलमिलाप आयोगले छानविन गर्दा दोषी ठहर भए कारर्वाही गर्ने प्रतिवद्धता जनाउनुभयो ।
साथै बाँदरमुडे घटनाका पीडितका आफन्त र छोराछोरीहरुको शिक्षादिक्षा र रोजगारका लागि अब वन्ने सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।
चितवन क्षेत्र नः ३ मा वाम गठवन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका प्रचण्डले माडी आउन निकुञ्जमा आकाशे पुल वा निकुञ्ज भित्र सुरुङ मार्ग बनाउने पनि बताउनुभयो ।
बादरझुलाको वस्तीलाई विकल्पसहित स्थानान्तर गर्ने र सुकुम्वासी समस्या समाधानका लागि ठोस योजनासहित कार्यक्रम ल्याउने जानकारी दिँदै उहाँले माडीमा दुःख दिने रिउ नदीका साथै राप्ती र नारायणी नदीमा व्यवस्थित तटवन्धन गर्ने बताउनु भयो ।
स्थायी सरकार, सम्वृद्धि र विकासका लागि नै वाम तालमेल गरिएको भन्दै प्रचण्डले भन्नुभयो , ‘वाम तालमेल तालमेलका लागि मात्र नभई एउटै कम्युनिष्ट केन्द्र निर्माणका लागि हो ।’