काठमाडौं , १५ कार्तक । बुधबार साँझ काठमाडौंको कमलादीमा गोली चलेको छ । कमलादीको हेरिटेज प्लाजामा रहेको होटलमा गोली चलेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ।
होटलमा गोली चले लगत्तै प्रहरीले दुर्इ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतको लुदियानाका गगनदीप सिंह र जसबिन सिंह रहेका छन् । प्रहरीका अनुसार उनीहरु मंगलबार साँझ कमलादीस्थित होटल हिमालय दर्शनमा आएर बसेका थिए ।
अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी रविन्द्र धानुकले बताए।
धानुकका अनुसार उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ। कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको उनले बताए। उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसएसपी धानुकले बताए।
प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।
भी एक्स आई मोडलको स्वीफ्ट गाडीमा सुनौलीबाट काठमाडौं आएका थिए । प्रहरीले युपी नम्बर प्लेटको उक्त स्वीफ्ट गाडी पनि हिमालय दर्शन होटलबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका दुवै भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।
हेरिटेजस्थित होटलमा खाजा खाएपछि पैसा तिर्ने विषयमा विवाद हुँदा ती भारतीयले एक राउण्ड हवाई फायरिङ गरेका थिए । कुनै मानवीय क्षति भने भएको छैन ।