बिर्तामोड कार्तिक १३ ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको हत्या मुद्धामा फिर्ता लिन दवाव दिएको भन्ने कुरा गलत भएको मेयर ध्रुव शिबाकोटीले बताएका छन् ।
आफु पीडितलाई न्याय दिलाउन लाग्दा उल्टै दवाव दिएको आरोप लागेको भन्दै शिबाकोटीले कानुनी कार्बाही गराउन आफूले सक्दो पहल गरेको बताए ।
तर आन्दोलनकारी स्थानीयले यस अघि पीडितको घरमा १० औं दिनको तिथिमा भेला भएका बेला यो हत्या नहुन पनि सक्छ, दोषी प्रमाणि नभई कार्बाही कसरी हुन्छ भन्ने जस्ता अभिव्यक्ति दिए पछि उनी विरुद्ध जनता उत्रिएको पीडित पारीवारीक स्रोतले जनाएको छ ।
बीर्तामोडमा आन्दोलनमा उत्रिएका नागरिकहरुले मेयरले पनि मिलेमतो गरेको पैसा खाएको आरोप लगाउनुका साथै दोषी जोगाउन खोजेको भन्दै मेयरको घरमा आक्रमण गरेका थिए ।
आक्रोशित भीडले शुक्रबारै बिर्तामोस्थित पाथीभरा टोलमा रहेको मेयर शिवाकोटीको घरमा तोडफोड गर्नुका साथै र केही सवारी साधनमाथि आगजनी समेत गरेका थिए । पाँच सय जनाभन्दा बढीले दुई घण्टासँग आफ्नो घरमा ढुंगा हानेको मेयर शिवाकोटीले बताए । ‘मलाई नै मार्ने उद्देश्यले ढुंगा हानिएको छ । तैपनि सरकार सुरक्षा दिन चाहिरहेको छैन’ उनले भने ।
मुद्दा फिर्ता लिन दबाब दिएको विषयबारे राखिएको जिज्ञासामा मेयर शिवाकोटीले आफूले पीडित परिवारलाई मुद्दा फिर्ता लिन कुनै किसिमको दबाब नदिएको र लक्ष्मणको हत्यारालाई कारवाही गर्न हरतरहले सहयोग गरिरहेको प्रतिक्रिया दिए ।
गत असोज १४ गते बिर्तामोड नगरपालिका वडा नम्बर ५ का सुधिर पोखरेलको घरमा साथीसँगै साइकल चढेर गएका लक्ष्मणको भोलिपल्ट १५ गते निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा फेला पारिएको थियो । नाताले मेयर शिवाकोटी मृतक लक्ष्मणका हजुरबुबा हुन् । ‘पीडित पक्षलाई न्याय दिलाउन लागिपरेको देखेर विरोधीहरुले मैले पैसा खाएको हल्ला चलाएका हुन् । मैले कस्तो भूमिका निभाइरहेको छ भन्ने कुरा दुनियाँले हेरिरहेका छन्’ मेयर शिवाकोटीले भने ।
बालकको हत्या भएको भन्दै परिवारले सुधिर पोखरेलसहित ८ जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा असोज १९ गते किटानी जाहेरी दरखास्त दर्ता गरेको थियो । तत्कालीन कार्यालय प्रमुख डीएसपी राजकुमार सिलवाल थिए । सोही जाहेरीको आधारमा प्रहरीले सुधिर पोखरेल, सन्तोष पोखरेल र समिर पोखरेललाई पक्राउ गरेर थुनामा राखेर अनुसन्धान गरेपनि पाँच जना अझै फरार छन् ।
‘बालक लक्ष्मणको हत्या भएको छ । तर तत्कालीन डीएसपी राजकुमार सिलवालले हत्याराको खोजी र पक्राउ परेकामाथि मुद्दा चलाउन बेवास्ता गरे । अहिले उनको ठाउँमा अर्कै डीएसपी आएका छन् । बालक लक्ष्मणका हत्यारा पत्ता लगाई कडा करवाही गर्नुपर्छ’ मिर्मिरेसगँको कुराकानीमा मेयर शिवाकोटीले भने ।
बालकको हत्यारा पत्ता लगाउन प्रशासनले आनाकानी गरिरहेको भन्दै दोषीलाई कारवाही गर्न माग गर्दै यही शुक्रबार स्थानीयसहित पीडित पक्षले निकालिएको शान्तिपूर्ण र्यालीमा प्रहरीले अन्धाधुन्दा गोली चलाउन स्थानीय अर्जुन थापाको ज्यान गएको छ ।