काठमाडौं, कात्तिक १२ । सरकारले धादिङको गजुरीमा ३१ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।
गृह मन्त्रालयले आज मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । गठित समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सदस्य छन् ।
समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सातदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ ।
यसैबीच, वेपत्ता भएकाहरुको आज विहानै देखि खोजी कार्य सुरु गरिएको छ ।
हराइरहेका सप्तरी राजविराज १६ का पुजा झा र तिलाठी का प्रतीक झाको बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको गोताखोरको टोलीले खोजी कार्य राखेको जनाइएको छ ।
राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी ३१ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए । घाइते मध्ये दुइ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोडस्थित त्रिशुलि नदीमा शनिबार बस खस्दा ३१ जनाको मृत्यु भएको थियो । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलि नदीमा खसेर दुर्घटना भएको हो ।