विर्तामोड (झापा)– झापाको विर्तामोडमा शुक्रबारदेखि भएको तनाव रोक्न भन्दै जिल्ला प्रशासन कार्यालयको पहलमा दलहरुले गरेको सहमति स्थानीयले अस्वीकार गरेका छन् ।
बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै भएको शुक्रबार बिर्तामोडमा भएको प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३० वर्षीय नरेश थापाको मृत्यु भएको थियो ।
गत असोज १४ गते हराएका अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटी १५ गते मृत भेटिएका थिए । उक्त घटनाका दोषी पत्ता लगाउन नसकेको भन्दै स्थानीयले प्रदर्शन गरेका थिए ।
तनाव मत्थर गर्न मृतक थापाका परिवारलाई १० लाख राहत दिन गृह मन्त्रालयलाई सिफारिस गर्ने लगायत दलहरुले ८ बुँदे निर्णय गरेका थिए । उक्त निर्णयपछि आन्दोलन रोकिने विश्वास गरिए पनि सर्बदलीय बैठकको निर्णय अस्वीकार गर्दै शनिवार बेलुका कर्फ्यू उलंघटन गरी स्थानीय सडका आगो बालेका छन् ।
विराटनगरको उत्तरतर्फको अर्जुनधारा, शनिश्चरे रोड तथा मानन्धतर चोक लगायतका विभिन्न ठाउँमा शनिवार बेलुका स्थानीयले प्रदर्शन गर्दै विभिन्न ठाउँमा सडकमा टायर बालेका थिए । प्रहरीले तत्काल आगो निभाएर आन्दोलनकारीलाई अखेटेको थियो ।
सर्बदलीय बैठकको निर्णयपछि आन्दोलन मत्थर हुने विश्वास गरिए पनि आन्दोलन नरोकिएपछि स्थानीयले शुक्रबारदेखि लगाएको कफ्र्यू जारी नै राखेको छ ।