धादिङ कात्तिक ११ ।
सप्तरीको राजविराजबाट काठमाडौं तर्फ आउँदै गरेको रात्रि बस त्रिसुली नदिमा खस्दा मृत्यु हुनेको सङख्या ३० पुगेको छ ।
ना ६ ख १४ ६७ नम्बर बस आज विहान करिब ६ बजे तिर धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा खसेर दुर्घटना हुँदा अन्य १६ जना घाईते भएका छन् ।
अहिले सम्म ९ बालबालीका सहित १० महिला र ११ जना पुरुषको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । ती मध्ये १३ जनाको शनाखत भएको छ । मृतकमध्ये भारतीय नागरिक ममतादेवी ठाकुर बाहेक अधिकाशं सप्तरी जिल्लाका रहेका छन् ।
मृकमध्ये शशिकुमारी झा, राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी, रमानन्द यादव र सञ्जीव झाको शनाखत भएको छ ।
दुर्घटनामा घाइते भएका १६ मध्ये गम्भिर अवस्थाका दुई जनालाई उपचारका लागि काठमाडौको ट्रमा सेन्टर ल्याइएको छ । अन्यको भने धादिङको गजुरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सप्तरीको राजविराज–६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको उद्दारमा खटिएका धादिङ प्रहरी प्रमुखमा एसपी ध्रुवराज राउतले जानकरी दिनुभयो ।
अन्य केही बेपत्ता भएको आशंकामा बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । बसमा रहेका यात्रुको संख्याबारे यकिन नहुँदा बेपत्ताको संख्या थाहा हुन नसकेको धादिङका प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले बताउनुभयो ।