८ कात्तिक,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीले राष्ट्रिय भ्रष्टाचारीको सम्पति कब्जा गरेर राष्ट्रियकरण गर्न अभियान सुरु गर्न लागेको बताएका छन् । अर्बौंको भ्रष्टाचार गरेको देख्दादेख्दै नेता र अदालतले चोख्याउने काम गरेको बताए ।
बुधबार काठमाडौँको खुलामंचमा १०० औं शतवार्षीकीको अबसरमा आयोजनामा गरिएको जनसभालाई सम्बोधन गर्दै विप्लवले भने, “राष्ट्रिय भ्रष्टाचारीको सम्पति राष्ट्रियकरण गर्नुपर्छ, त्यो अभियान हामी सुरु गर्दैछौं त्यसमा सबैको साथ रहनुपर्छ । देश र जनतालाई कंगाल बनाउने गरी अरबौंको भ्रष्टाचार गरेका छन्, त्यो पैसा जनताको नाममा जम्मा गर्नुपर्छ ।”
विप्लवले एनसेल, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का, कर फच्र्युट आयोगका प्रमुख चुडामणी शर्मा, चन्द्रागिरी हिल्सका मालिक चन्द्र ढकालको नामै लिएर उनीहरुको सम्पति जनताको नाममा जम्मा गर्नुपर्ने बताए । भ्रष्टाचारीलाई सर्वोच्च अदालतले सुनपानी छर्केर निर्दोष सावित गरेको भन्दै आपत्ति जनाए ।
सभालाई सम्बोधन गर्दै विप्लवले असफल भइसकेको दलाल संदीय व्यवस्थाले देश र जनतालाई भलो नगर्ने बताउँदै चुनावलाई खारेज गरेर वैज्ञानिक समाजवाद स्थापना गर्न सबै एकजुट हुनुपर्ने बताए ।
सिंहदरबार दलालहरु चुनावको माध्यमबाट गाउँगाउँसम्म पुगेको तर्क गर्दै संसदीय चुनावले विकास नभई दलालहरु उत्पादन गर्ने दाबी महासचिव विप्लवले गरे । दलाल संसदीय व्यवस्थाकै कारण अहिले देश सर्वाधिक संकटमा परेको दृष्टान्त पेश गर्दै स्वाधीनताको रक्षार्थ वैज्ञानिक समाजवाद स्थापना गर्न नेपाली सेना, प्रहरी, कर्मचारी र देशभक्त शक्तिहरु एक हुन अपिल गरे ।
रेमिट्यान्सलाई उनले देशलाई पराधिन बनाउने माध्यम भएको बताए । रोजगारका नाममा विदेशीको दास बनेर मर्नुको साटो देश र जनताको समृद्धिको लागि बलिदान दिनु महान कार्य हुने उनले बताए । एकीकृत जनक्रान्तिको झण्डामुनि गोलबन्द हुन युवाहरुलाई आह्वान समेत गरे ।