विराटनगर, कार्तिक ८ ।
मोरङसँगको सीमावर्ती भारतीय बजार जोगबनीदेखि ५ किलोमिटर दक्षिणमा रहेको मीरगन्ज खोलाको क्षतिग्रस्त पुल मर्मत भईसकेपनि भारतीय प्रशासनले मालबाहक साधन चल्न दिएको छैन्।
दुई महिना अघिको बाढीले क्षतिग्रस्त बनेको पुल मर्मत भइसके पनि मालबाहक साधन चल्न नदिइँदा जोगबनी भन्सारबाट हुने आयात–निर्यात सहज हुन सकेको छैन । यसले गर्दा पूर्वका उद्योगी–व्यवसायी समस्यामा परेका छन् ।
मीरगन्ज खोलाको पुल साउन अन्तिम साताको बाढीले क्षतिग्रस्त बनेको थियो ।
त्यसयता भारतीय प्रशासनले सो पुलबाट मालबाहक साधन चल्न रोक लगाएको थियो ।
दुई साताअघि पुलको मर्मत भइसकेको छ । मर्मतपछि २० टनसम्म सामान बोकेका साधन सञ्चालन गर्न दिने भनिएको थियो । तर भारतीय भन्सारका अधिकारीले केन्द्रबाट निर्देशन नआएकाले समस्या भएको बताउने गरेको विराटनगर भन्सार कार्यालयका एक अधिकृतले बताए ।
पुल सञ्चालन र मर्मतलगायत प्रक्रिया भारतीय केन्द्र सरकार मातहत हुने भएकाले स्थानीय प्रशासनले अनुमति दिन नसकेको स्रोतले जनाएको छ । मर्मत भएपछि केही दिन आयात सहज भएको थियो । तर केन्द्रिय निर्देशन भन्दै फेरि मालबाहक साधन सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
जोगबनी नाकाबाट आयात नियमित हुन नसकेपछि सुनसरीको भान्टाबारी नाकाबाट आयात भइरहेको छ । रुट परिवर्तन गरी आयात–निर्यात गर्नुपर्दा एउटा साधनकै ५० हजार रुपैयाँभन्दा बढी महंगो पर्ने उद्योगी–व्यवसायीले बताएका छन् ।