५ कात्तिक, काठमाडौं । प्रदेशकै संरचनाअनुसार सवारी साधनमा नयाँ प्रविधिको इम्बोस्ड प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।
यसअघि अञ्चलको संरचनाअनुसार सुरु भएको इम्बोस्ड प्लेटको वितरण रोकेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेशको आधारमा प्लेट वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो ।
गत भदौमा तत्कालीन संसदको विकास समितिले इम्बोस्ड प्लेट प्रदेशअनुसार वितरण गर्ने गरी तत्काल तयारी निर्देशन दिएको थियो ।
त्यसैअनुसार यातायात व्यवस्थता विभागले अञ्चलको नाम उल्लेख भएको स्थानमा प्रदेशको नाम राख्ने निर्णय गर्दै यातायात व्यवस्था नियमावली संशोधनको प्रस्ताव मन्त्रालयमा लगेको थियो ।
प्लेटलाई प्रदेशको संरचनामै वितरण गर्ने कानुनी व्यवस्था नभएसम्म प्लेटको छपाइ रोकिएको छ । विभागका प्रवक्ता डा. टोकराज पाण्डेले मन्त्रिपरिषदले निर्णय गरेर सोको सूचना राजपत्रमा आएपछि अञ्चलको सट्टामा प्रदेश नम्बर उल्लेख हुने र वितरण थालिने बताउनु भयो ।