५ कात्तिक, काठमाडौं ।
एमालेले प्रदेशसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि गुण्डा नाइके दीपक मनाङ्गे स्वतन्त्र रुपमा उम्मेदवारी दिने भएका छन् ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देशब्यापी रुपमा बिरोध भएपछि उनलाई उम्मेदवार बनाउनबाट एमाले पछि हटेपछि नवप्रवेशी एमाले कार्यकर्ता मनाङे स्वतन्त्र उम्मदेवार बन्ने भएका हुन् ।
मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिस भएका मनाङ्गेलाई उम्मेदवार नबनाउन एमाले स्थायी कमिटीका सबै नेता सहमत भएका हुन् ।
शुक्रवार मध्यरातमा भएको निर्णय अनुसार मनाङ्गेको ठाउँमा एमालेले खण्डा लामा गुरुङलाई उम्मेदवार बनाएको छ । उनी एमालेकी जिल्लास्तरकी महिला कार्यकर्ता हुन् । उनी दिपक मनाङेसँगै राप्रपाबाट एमाले प्रवेश गरेकी थिइन् ।
जिल्लाबाट सर्वसम्मत रुपमा आए पनि र जित्ने निश्चित हुँदा हुँदै पनि एक सिटका कारण देशभर एमालेको बद्नाम हुने भन्दै शीर्ष नेताहरुले दीपक मनाङेलाई टिकट नदिने निर्णय गरेको स्रोतले जनाएको छ ।
दीपक मनाङे एमालेबाट चुनाव लड्नका लागि राप्रपाको सिंगो जिल्ला कमिटीसहित एमाले प्रवेश गरेका थिए ।
उता एमालेका ४ नम्बर प्रदेश संयोजक किरण गुरुङले दीपक मनाङेलाई नचिनेर शुरुमा जिल्लाबाट आएको सिफारिस जस्ताको त्यस्तै प्रदेश कमिटीले केन्द्रमा पठाएको बताएका छन् । जिल्लाबाट सिफारिस आउँदा मनाङ २ मा राजिव गुरुङ भनेर आएको थियो ।
सञ्चारमाध्यममा गुण्डा नाइके दीपक मनाङे पनि एमालेबाट उम्मेदवार सिफारिस भएको समाचार आएपछिमात्र राजिव गुरुङनै दिपक मनाङे रहेछन् भन्ने जानकारी पाएको गुरुङले बताए ।