मेलम्चीको पाइप परीक्षणका लागि वाग्मतीको पानी लग्दा सुन्दरीजलकै धारामा पानी बन्द

मेलम्चीको पाइप परीक्षणका लागि वाग्मतीको पानी लग्दा सुन्दरीजलकै धारामा पानी बन्द

  • बिहिबार, कार्तिक २, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, कात्तिक २ । मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ ।

सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक सातादेखि पानी बन्द भएको स्थानीयवासीले बताए । धारामा पानी आउन छाडेपछि खानेपानी खोज्नकै लागि भौँतारिनुपरेको मेनका खड्काले गुनासो गरिन् ।

एक हप्तासम्म सुन्दरीजल क्षेत्रकै धारामा पानी नआएपछि बुधबार स्थानीयवासीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सुन्दरीजल प्रशोधन केन्द्रका प्रमुखलाई भेटी नियमित पानी वितरणको व्यवस्था मिलाउन माग गरे ।

लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराई वाग्मतीको पानी लगेर मेलम्चीको प्रशोधन केन्द्र र पाइपमा परीक्षण गर्दा पानी आपूर्तिमा अवरोध नहुने गरी गर्ने सम्झौता भएको बताउँछन् ।

सुन्दरीजल जलविद्युत् केन्द्रमा मर्मत भइरहेकाले पनि पानी कम वितरण भएको हुनसक्ने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाले भने पानी परीक्षण गरेर पुरानै सञ्जालमा फर्काइने व्यवस्था मिलाइएकाले धारामा पानी बन्द हुनुपर्ने कारण नरहेको जनाएको छ । आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले पानी परीक्षणले नभई अन्य कारणले नै अवरुद्ध भएको हुन सक्ने बताए ।

‘प्रशोधन केन्द्रका ६ वटा कक्षमा पानी परीक्षण भइसकेकाले अब चार दिनमा बाँकी दुई कक्ष पनि परीक्षण गरी सकिने छ, प्रशोधन केन्द्र परीक्षण सकेपछि पाइपको परीक्षण लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयले गर्नेछ,’ उनले भने ।

पानी अवरुद्ध भएको गोकर्णेश्वर नगरपालिका वडा नं १ का अध्यक्ष राम मानन्धर पुरानो सञ्जालको पानी नयाँ प्रशोधन केन्द्रमार्फत नयाँ सञ्जालबाटै परीक्षण गर्दा पुरानो सञ्जालमा पानी नआएको हुनसक्ने बताउँछन् ।

पानीको स्रोत भएकै स्थानमा पानी नदिई अन्यत्र वितरण नगर्न लिमिटेडलाई पटक–पटक अनुरोध गरिए पनि नमान्दा स्थानीयवासीले पानी नपाएको उनले सुनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ