अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः आयोग

अदातलको आदेशबाट निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको छः आयोग

  • बुधबार, कार्तिक १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

 

काठमाडौँ, १ कातिक।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले सबै मतदातालाई ढुक्क रहन आग्रह गर्नुभएको छ ।

‘प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन’ को तयारीका विषयमा जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सबै सरोकारवालाबाट पूर्ण सहयोग हुनेमा आयोग ढुक्क छ ।”

मतपत्रका बारेमा सर्वाेच्च अदातलबाट आज भएको आदेशबाट आयोगको निर्वाचन व्यवस्थापनमा सहयोग पुगेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो, “अदालतबाट औपचारिकरुपमा फैसलाको प्रति प्राप्त छैन, यद्यपि प्राप्त सूचनाअनुसार, अदालतको फैसलाबाट निर्वाचनको तिथि, मिति र व्यवस्थापनमा कुनै असर पुग्ने छैन ।”

आयोगले निर्णय गरेअनुसार, समानुपातिक तथा पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको छ ।

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको छ ।

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा आजसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको छ । सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने कार्यक्रम छ । कात्तिक ८ गतेबाट पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्पmका मतपत्रको छपाइ कार्य आरम्भ हुने सो अवसरमा जानकारी दिइयो ।

राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची ठूलो उत्साहका साथ बुझाएबाट आगामी निर्वाचन व्यापक सहभागिता तथा उत्साहका साथ सम्पन्न हुने सुनिश्चित भएको बताउँदै उहाँले सबै राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन आचारसंहिताको पूर्णपालना गरी असल राजनीतिक संस्कारको विकासमा योगदान पु¥याउन अपिल गर्नुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर १० गते आइतबार र मंसिर २१ गते बिहीबार हुँदैछ । उक्त निर्वाचनका लागि आयोगले १० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ मतदान केन्द्र कायम गर्ने निर्णय गरिसकेको छ ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका लागि उम्मेदवारको बन्दसूची पेश गर्दा दलहरुले समानुपातिक तथा समावेशी सिद्धान्तलाई पालना गरेको आयोगले जनाएको छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अनुसार यही कात्तिक ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीको उत्पादन गर्ने कार्य शुरू भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषामध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी