नेपाली कांग्रेस छाडेको एक दशकपछि विजयकुमार गच्छदार पुन: सोही पार्टीमा फर्कनु भएको छ । तराईमा आफ्नो आधार गुमाउँदै गएपछि नेपाल लोकतान्त्रिक फोरम पार्टीको नेतृत्व गर्दै आएका गच्छदार पुन: नेपाली कांग्रेसमै फर्कनु भएको हो ।
राजधानीको वालुवाटारमा आज साँझ एक कार्यक्रमबीच कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गच्छदारसहित लोकतान्त्रिक फोरमका नेतालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । लोकतन्त्र स्थापनापछि हरेक जसो सरकारमा सहभागी गच्छदार देउवा नेतृत्वको बर्तमान सरकारमा उपप्रधानमन्त्री सहित सहभागी हुनुहुन्छ ।
पहिलो संविधानसभा निर्वाचनअघि तात्कालिन सभापति गिरिजाप्रसाद कोईरालासँग टिकटको विषयमा विवाद भएपछि गच्छदार उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । अध्यक्ष यादवसँग पनि विवाद भएपछि निर्वाचन लगत्तै गच्छदारले आफ्नै नेतृत्वमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक खोल्नु भएको थियो । मधेशका केही दलसँग एकीकरण पछि पछिल्लो समय सो पार्टी नेपाल लोकतान्त्रिक फोरम भएको हो ।