जाजरकोट , २७ असोज ।
सिंचाई विकास डिभिजन कार्यालय जाजरकोटका प्रमुख थलबहादुर तामाङ चढेको गाडी स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।
सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजनाले डिभिजन जाजरकोटलाई ६ महिना अघि गाडी उपलब्ध गराएको गाडि डिभिजन प्रमुख तामाङले सरुवा भएको सिंचाई डिभिजन कार्यालय रामेछाप तर्फ लैजाँदै गरेको अवस्थामा प्रशासनले बाँकेको चिसापानीबाट नियन्त्रणमा लिएको हो ।
तामाङले जिल्ला प्रशासन कार्यालयको अनुमति बिना बा २ झ २५९८ नम्बरको रेन्जर गाडी सरुवा भएको जिल्ला रामेछाप तर्फ लैजाँन लाग्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय बाँकेको सहयोगमा चिसापानीबाट उक्त गाडी नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताउनुभयो ।
यसअघि नै तामाङले आयोजनाको चिठी लुकाएर कार्यालयमा गाडी दाखिला नगरी निजीरुपमा प्रयोग गर्दै आएको पनि बताईएको छ । प्रमुख तामाङको जाजरकोट रहँदा विभिन्न योजनामा अनियमितता गरेको आरोपमा चौतर्फी आलाचना भएको थियो ।
नियन्त्रणमा रहेको गाडी आज नेपालगञ्जबाट जाजरकोट फिर्ता भएको प्रमुख जिल्ला अधिकारी शाहीले बताउनुभयो ।
सिंचाई विकास कार्यालय जाजरकोटको उजुरी अनुसार गाडी नियन्त्रण लिएको प्रजिअ शाहीको भनाई थियो । रामेछाप सरुवा भएका तामाङ जिल्लाबाट बिदाई नभएरै भागेर गएको उहाँको तर्क थियो ।
प्रहरी चेक पोष्टमा तामाङले ट्राफिक नियमलाई लत्याउदै गाडी चेकजाँचका लागि रोक्न नदिई जवरजस्ती भगाएको प्रजिअ शाहीले बताउनुभयो ।