काठमाडौँ, २७ असोज ।
सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताउनुभएको छ ।
अन्तर्रा्ष्ट्रिय प्रकोप न्यूनीकरण दिवसका अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा मन्त्री गौतमले भूकम्प, भूक्षय, बाढी, पहिरो, हिमतालजस्ता प्राकृतिक प्रकोपको हिसाबले अति नै जोखिम रहेकाले विकासको काममा सहजता नभएको बताउनुभएको हो ।
उहाँले नेपालमै रहेको स्रोत साधनको प्रयोग गर्दै अनुसन्धानमूलक तरिकाबाट विकासको काम अघि बढाउनुपर्नेमा पनि जोड दिनुभयो ।
कार्यक्रममा पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न वैज्ञानिक तरिकाले विकासको काम अघि बढाउनुका साथै एकीकृत बस्तीलाई जोड दिनुपर्ने धारणा राख्नुभयो ।
राष्ट्रपति चुरे तराई मधेश संरक्षक समितिका अध्यक्ष डा वीरेन्द्रकुमार यादवले मुलुकमा सबैभन्दा पछि परेको स्थान चुरे रहेको भए पनि राज्यको ध्यान कम परेकाले बजेट पनि अत्यन्तै कम छुट्याइने गरेको गुनासो गर्नुभयो ।
नेपाल भौगर्भिक समाजका उपाध्यक्ष गणेश त्रिपाठीले मानिसको लापर्बाहीका कारण पहाडको वनजंगल फँडानी हुने, तराईको उर्बर भूमिमा बालुवा आउने क्रम तीव्र रहेको हुँदा यसले झन प्राकृतिक विपत्तिलाई बढाएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
हरेक बर्ष बिश्व समुदायले अक्टोबर महिनाको १३ तारीखका दिन बिश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गरिएको छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी यो दिवस मनाईदैछ ।
सन् १९८९ को राष्ट्रसंघ को साधारणसभाले प्राकृतिक विपत्ति बिरुद्ध पूर्वतैयारी र जागरणको अभिबृद्धिका लागि यस दिवसको शुरुवात गरेको थियो ।
आजको दिवसले सन् २०३० सम्ममा प्राकृतिक प्रकोपका पीडीतहरुको सख्याँ कम गर्ने लक्ष्य लिएको छ ।
दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले पनि प्रकोपको बारेमा राष्ट्र तथा समुदायमा पूर्व तयारी संरचना माथिको पहुच बढाउन, पिडितहरुको संरक्षणका लागि विशेष आह्वान गर्ने योजना रहेको बताएको छ ।
पृथ्वीमा मानविय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायू परिवर्तनले प्राकृतिक प्रकोपको जोखिममा वृद्धि भएको छ ।