काठमाडौँ, ६ असोज ।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना जारी गरेको छ ।
आयोगका अनुसार त्यस्तो नमूना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ । प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुरुप आधिकारिक दस्तखत नमूना पेश गर्न बेग्लाबेग्लै सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।
मनोनयनसम्बन्धी औपचारिकपत्रको ढाँचा आयोगको वेबसाइट ध्ध्ध्।भभिअतष्यल।नयख।लउ बाट डाउनलोड गरी वा आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाबाट प्राप्त गर्न सकिने छ ।
यसैबीच आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस्था र व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन आज सूचना जारी गरेको छ ।
दुवै निर्वाचन दुई चरणमा एकैसाथ मंसिर १० र २१ गते गर्ने सरकारले यस अघि नै घोषणा गरिसकेको छ ।
अनुशासन, लोकतन्त्र, निर्वाचन र शान्ति प्रवद्र्धनका क्षेत्रमा काम गर्ने उद्देश्य बोकेका संघसंस्थाले निर्वाचन पर्यवेक्षणको अनुमति दिनसक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले यसअघि उक्त निर्वाचनको अवलोकन गर्न चाहने अन्तर्रा्ष्ट्रिय संघसंस्थासँग आवेदन माग गरेको थियो ।