काठमाडौं, असोज ५ ।
हिन्दु नेपालीहरुको महान पर्व बडा दशैं आजबाट सुरु भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरिएको छ ।
घटस्थापनाको शुभ साइत बिहान ९ बजेर ४१ मिनेटमारहेको थियो । सोहि शुभ साईतमा काठमाडौंको हनुमान ढोकास्थित दशैं घरमा पनि जमरा राखिँएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्री आरम्भ हुन्छ । आजका दिन घर घरमा जमरा राखिन्छ र कलशको स्थापना गरी देवी देवताको आह्वान गर्ने गरिन्छ ।
आज विहानै आत्मशुद्धी गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा वा माटो ल्याई दसैं घर या पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ, मकै लगायतका अनाज छर्ने गरिन्छ ।
माता भगवतीलाई मनपर्ने बनस्पति जमरा भएकाले भगवतीलाई खुशी पार्नको लागि जमरा उमार्ने गरिएको जनविश्वास छ । यसैगरी माटोको विशुद्ध जलपूर्ण घडाको वरिपरि नौवटा देवीको स्वरुपको प्रतिमूर्ति मानी गाईको गोबरले नौवटा देवीको वेदी बनाई लेपन गर्ने गरिन्छ र घडाको वरिपरि जौ छर्ने गरिन्छ ।
आज कै दिनदेखि नवमीसम्म घरघरमा र देवीका मन्दिरमा पहिलो दिनकै बमोजिम भगवती दुर्गाको पूजा, आराधना र प्रार्थना गर्ने गरिन्छ । शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि आज पूजाआजा गरिन्छ ।
आज राखिएको जमरा देवीको प्रसादका रुपमा विजया दशमीका दिन मान्यजनको हातबाट टीकासँगै लगाइने गरिन्छ । यसैविच उपत्यका लगायत देशैभरको देवी मन्दिरहरुमा आज विहानैदेखि दर्शन गर्न जानेको घुईंचो लागेको छ ।