काठमाडौँ, ४ असोज ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संयुक्त राष्ट्र संघअन्तर्गतका संस्था तथा गैरसरकारी संस्था शिक्षा तथा जागरुकतामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ ।
संयुक्त राष्ट्र संघको ७२ आँैं महासभाको उद्घाटन समारोहमा सहभागी हुनुभएका परराष्ट्र मन्त्री महराले सबैको हातेमालो भएमात्र श्रम शोषण , आधुनिक दास तथा मानव तस्करी जस्ता कार्य रोकिने बताउनु भयो ।
उद्घाटन सत्रमानै प्रधानमन्त्री थेरेसा मेले प्रस्तुत गर्नुभएको जबर्जस्ती श्रम, आधुनिक दास तथा मानव तस्करी कार्यक्रममा सहभागी हुनुभएका उपप्रधानमन्त्री महराले नेपाल जबर्जस्ती श्रम, दास तथा मानव तस्करीको मुक्तिका लागि नेपालले प्रतिबद्धता जनाएको स्पष्ट पार्नुभयो ।
त्यसअघि परराष्ट्र मन्त्री महरा दिगो विकासका लागि पानी भन्ने अन्तक्र्रियामा सहभागी हुनुभएको थियो । सो अन्तक्र्रियामा सन् २०३० सम्म सबैलाई सुरक्षित र खरिद गर्नसक्ने पानीको पर्याप्तता तथा त्यसका लागि पूर्वाधारमा ठूलो लगानी गर्ने विषयमा केन्द्रित थियो ।
त्यसैगरी सोही क्रममा युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्र सङ्घले आयोजना गरेको गुणस्तरीय पूर्वाधारमा लगानी प्रवद्र्धनसम्बन्धी कार्यक्रममा नेपालका तर्फबाट परराष्ट्र मन्त्री महराले सहभागिता जनाउनुभयो । त्यस लगतै उहाँ महासचिव एन्टोनियोले आयोजना गर्नुभएको भोगमा सहभागी हुनुभयो ।
त्यसैगरी उहाँले मित्रराष्ट्र नर्वेका विदेश मन्त्री बोर्जे ब्रेन्डेसँग द्विपक्षीय वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध तथा सहयोगका विविध विषयमा छलफल भएको थियो ।
महासभाकै अवसरमा उपप्रधानमन्त्री महराले दक्षिणी एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ । त्यस्तै उहाँले असंलग्न आन्दोलन (जि७७), चीन, अतिकम विकसित मुलुक तथा भूपरिवेष्ठित विकासशील मुलुकको बैठमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।
महासभामा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा आजै न्युयोर्क पुग्दै हुनुहुन्छ ।
न्युयोर्क्स्थित राष्ट्र संघको मुख्यालयमा मंगलबारदेखि सुरु भएको महासभा ‘जनता केन्द्रित ः शान्तिका लागि प्रयास तथा दिगो ‘प्लानेट’का लागि मर्या्दित जीवन’ भन्ने मुख्य विषयमा केन्द्रित छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेजले वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यस लगतै महासभालाई ब्राजिलका राष्ट्रपति माइकेल टेमेर र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्नुभयो ।