काठमाडौं, असोज ३ ।
आज तेस्रो संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइदै छ । दिवसको अवरसमा सरकारले आज दिउसो राजधानीको टुडिखेलस्थित सैनिक मन्चमा विशेष समारोहकोे आयोजना गरेको छ भने देशैभर विभिन्न कार्यक्रम हरु पनि हुदैछन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको दुई वर्ष पूरा भइ तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा सरकारले आज विशेष समारोहको आयोजना गरेको हो ।
नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको थियो ।
संविधान जारी भएको दुई वर्ष्भित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश र प्रतिनिधीसभा निर्वाचन मंसिर १० र २१ गते दुई चरणमा हुँदैछ ।
माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ । ६ वटा प्रदेशमा जनप्रतिनिधीले काम सम्हालिसकेका छन् भने प्रदेश नम्बर २ मा जनप्रतिनिधी चयनका लागि मतदान सम्पन्न भइसकेको छ ।
यस्तै संविधान दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । नेपालको लिखित संविधान मध्ये यो सातौं संविधान हो भने नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ ।
यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले शुभकामना दिँदै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि प्राप्त गरेको संविधान कार्यान्वयन गर्दै लैजानुपर्ने बताउनु भयो ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दिवसको शुभकामना दिँदै संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गर्नु भयो ।
यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले आफ्नो अधिकार र कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामना गर्नु भएको छ ।