काठमाण्डौ , १ असोज ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल अध्यागमन विभागको २० घण्टा नियन्त्रणपछि नेपाल फिर्ता हुनु भएको छ ।भ्रातृसंगठन प्रवासी नेपाली मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका पौडेल अध्यागमनको नियन्त्रणपछि नेपाल फिर्ता हुनु भएकोहो ।
आयोजकका अनुसार लगातारको अनुसन्धानपछि जापान आमन्त्रण गर्नुको औचित्य नभेटेको र प्रतिबन्धित कागजात भेटेका कारण पौडेललाई जापानको अध्यागमनले बिमानस्थलबाटै स्वदेश फिर्ता पठाएको हो ।
हिजो अपराह्न साढे एक बजे हानेदा विमानास्थल हुदै जापान पुगेका नेता पौडेलसँग भ्रमणको उद्देश्य पूरा गर्ने आधार नभेटेपछि स्थानीय अध्यागमनले आज बिहान १० बजेर २४ मिनेटमा नेपाल फिर्ता पठाएको हो ।
पौडेलको भ्रमणबारे आधिकारिक जानकारी नभएपनि समस्यामा परेपछि आयोजक सम्पर्कमा आएको बताउदै जापानस्थित नेपाली दूतावासले पौडेललाई जापानमा आयोजित कार्यक्रममा सहभागी हुन दिन गरेको आग्रह अध्यागमनले अस्वीकार गरेको जनाएको छ ।
जनसम्पर्क समिति सभापति डीपी कँडेलले युवानेता पौडेललाई जापान प्रवेशका लागि अनेक प्रयास गर्दा पनि अध्यागमनले अस्वीकार गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्पर्क गरेको बताउनुभयो । देउवाले फोन गरेको–नगरेको बारे भने जापानस्थित कुनै पनि निकायले पुष्टि गरेको छैन ।
पौडेलसँगै कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ र स्वास्थ्य खबर पत्रिकाका प्रकाशक अनिल न्यौपाने पनि अध्यागमनको नियन्त्रणमा परेका थिए । गुरुङसँग रातो राहदानी भएपछि तत्काल छाडे पनि पौडेल र न्यौपानेलाई फरकस्थानमा लगिएको थियो ।