राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

राष्ट्रियस्तरको भूकम्प अनुसन्धान केन्द्र बन्ने

  • बुधबार, भदौ २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

चौतारा, २८ भदौ । राष्ट्रियस्तरमा भूकम्पसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने केन्द्रका रुपमा विकास गरिने लक्ष्यका साथ सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यान निर्माण शुरु भएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पमा देशमा भएको क्षतिको ४० प्रतिशत मानवीय र ९५ प्रतिशत भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा मुलुकका अति प्रभावित १४ जिल्लाकै प्रतिनिधित्व हुने गरी १४ खम्बा राखी उद्यान निर्माण गर्न लागिएको हो ।

‘ए नट’ आर्किटेक डिजाइन एशोसियसनले रु ३५ लाखमा तयार गरेको विस्तृत अध्ययन प्रतिवेदन सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुपाल्चोकले मंगलबार चौतारामा सार्वजनिक गरेको थियो । सदरमुकाम चौताराबाट करिब तीन किमी उत्तर पश्चिमको दाह्रे गौँडा डाँडामा निर्माण गरिने उक्त उद्यान वरिपरि बार लगाउने काम भइरहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु तीन करोड २५ लाखमा सडक, बत्तीलगायत काम अगाडि बढाइएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका– ५ र ६ मा पर्ने भगवती सामुदायिक वन क्षेत्रको ८२ रोपनी १२ आना जग्गामा उद्यान निर्माण गरिने छ । उद्यानमा भूकम्पबाट क्षति भएको कल्पनामा एउटा विशाल प्रतिमा हुनेछ र त्यसमाथि कमलको फूल हुनेछ । उद्यानमा निर्माण हुने एउटा कक्षमा प्रवेश गर्दा भूकम्पको अनुभव हुने कोठासमेत रहने छ ।

भूकम्पसम्बन्धी अनुसन्धान गर्न सकिने बैठक कक्ष, पुस्तकालय, सूचना केन्द्र, विगतदेखि हालसम्म गएको भूकम्पको जानकारी लिन सकिने संग्रहालय र दुईतले दृश्यावलोकनस्तम्भ निर्माण गरिने छ । उद्यानभित्र मृतकको नामांकित शिलास्तम्भ र पार्किङलगायत व्यवस्था गरिने शहरी विकास तथा भवन डिभिजन कार्यालय जिल्ला समन्वय समितिका प्रमुख डा युवराज पौडेलले जानकारी दिनुभयो । सो उद्यान निर्माणमा झण्डै रु एक अर्ब बजेट लाग्ने छ । आगामी मंसिरसम्म डिपिआर तयार हुने बताइएको छ ।

उद्यान निर्माण गरिने क्षेत्र स्थानीय भगवती सामुदायिक वन क्षेत्रभित्र पर्ने हुँदा जिल्ला वन कार्यालयसँग समन्वय गरी सोहीबमोजिम निर्माण गरिनुपर्ने जिल्ला वन अधिकृत शिवप्रसाद सापकोटाले सुझाव दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ र चौतारा साँगाचोकगढीका प्रमुख अमानसिंहतामाङले संग्रहालयमा देशभरिको इतिहास झल्कने सामग्री समावेश हुनुपर्ने सुझाव दिनुभयो ।

‘गोरखा भूकम्प’ तथा त्यसपछिको परकम्पबाट जिल्लामा तीन हजार ५७२ जनाको मृत्यु भएको तथा आठ जना बेपत्ता र एक हजार ५६९ जना घाइते भएका थिए । त्यस्तै ९५ प्रतिशत भौतिक क्षति भएको थियो । देशभरमा भूकम्पबाट कम्तीमा नौ हजारको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ