गुल्मी, २७ भदौ ।
धादिङ र गुल्मीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
आज बिहान धादिङ विशालटार नजिकैै भएको दुर्घटनाका घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिनुभयो ।
रमाशंकरको स्टार अस्पताल बल्खु र ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार गराईरहेका घाईते नवलपरासीको सुस्ता गाउँपालिका–५ निवासी ६५ वर्षीय रमाशंकर सिंह र ३० वर्षीय बच्चु रामको मृत्यु भएको हो ।
काठमाडाँैबाट ४४ यात्रु लिएर नवलपरासीको त्रिवेणीका लागि छुटेको लु २ ख ६६३० नं को यात्रुवाहक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ स्थित सडकबाट करिब १०० मि तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा ३१ जना घाइते भएकामा उपचारका लागि आठ जनालाई ट्रमा सेन्टरमा पठाइएको थियो । ट्रमा सेन्टरमा पठाइएका बिरामीमध्ये एम्बुलेन्स चालकले आफूखुसी स्टार अस्पतालमा समेत लगेका थिए ।
हाल पाँच जनाको स्टार अस्पताल, एक जना ट्रमा सेन्टर, चार जनाको गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र बाँकीको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उता , मोटरसाइकल दुर्घटना हुँदा आज बिहान रुरु गाउँपालिका– ३ निवासी २३ वर्षीय राजु सारुको मृत्यु भएको छ ।
ना १७ प २४८१ नंको मोटरसाइकलमा सवार सारु सदरम्ुकाम तम्घासबाट रिडी जाने क्रममा आज बिहान रुरु गाउँपालिका– ३ स्थित फलाटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले बताउनुभयो ।
दुर्घटनामा परी घाइते सारुको रुरु स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा उनीसँगै सवार रुरु गाउँपालिका– ३ निवासी २१ वर्षीय ईश्वरी रावतसमेत घाइते भएकामा स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तीव्रगतिमा रहेको उक्त मोटरसाइकल अनियन्त्रित भई सडकबाट केही तल खसेको थियो ।