काठमाडौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
अन्तर्रा्ष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गर्दै देउवाले महिलालाई साना तथा मझौला उद्यमतर्फ आकर्षण गर्न लगानीमैत्री वातावरण तयार गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
दक्षिण एशिया क्षेत्रको आर्थिक–सामाजिक अवस्था, गरिबी, अशिक्षा, पछैटेपनका कारण महिलालाई आत्मविश्वासका साथ उद्योग व्यवसायमा संलग्न रहन कठिन रहेको प्रधानमन्त्री देउवाको भनाई छ । यस्तो अवस्थाको अन्त्य गर्दै महिलालाई अघि बढाउन सरकारले गर्नुपर्ने सबै कार्यहरु गर्न तयार रहेको बताउनु भयो ।
दक्षिण एशिया महिला विकास मञ्चद्वारा आयोजित उक्त सम्मेलनमा सार्क सदस्य राष्ट्रहरुलगायत १८ देशका ८० महिला उद्यमी तथा नीति निर्माताको सहभागिता रहेको छ ।
सार्कअन्तर्गतको सो मञ्च दक्षिण एशियाली महिलामा उद्यमशीलता विकास गर्न क्रियाशील छ । दुई दिने सो सम्मेलनमा पर्यटन, कृषि तथा सूचना प्रविधिका क्षेत्रमा संलग्न महिला उद्यमीले हासिल गरेका सफलता, भोग्दैआएका समस्या एवं लगानीका बारेमा छलफल हुनेछ ।
विश्व व्यापार संगठनकाअनुसार यस क्षेत्रको कूल व्यापारको दश प्रतिशत हिस्सा मात्र महिलाको छ । तीमध्ये पनि साना तथा मझौला व्यापार÷उद्यममा महिला संलग्न छन् । राष्ट्रिय अर्थतन्त्रमा ८० देखि ८८ प्रतिशत योगदान साना तथा मझौला व्यापारको रहेको छ ।