काठमाडौ २५ भदौ ।
निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रदेश तथा प्रधिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस गर्न तीन दिनको समय दिएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ भाग लिन चाहाने दललाई आजदेखि तीन दिनको समय छुट्याएको हो ।
तीन दिनभित्र निवेदन नदिने दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिन नपाउने पनि आयोगले स्पष्ट पारेको छ ।
निवेदन पेस गर्दा प्रतिनिधिसभा सदस्यको लागि मात्र भाग लिने वा प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिने अथवा प्रतिनिधि र प्रदेशसभा दुवैमा भाग दिने भन्ने कुरा स्पष्ट खुलाउनुपर्ने आयोगले जनाएको छ ।
यस्तै प्रदेशसभा सदस्य निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुन कुन प्रदेशमा भाग लिने भन्ने स्पष्ट खुलाइ सम्बन्धीत दलको प्रमुख पदाधिकारीको हस्ताक्षरसहित आयोगमा बुझाउन भनिएको छ ।