काठमाडौ ,२२ भदौ ।
आज १४ औं निजामती सेवा दिवस, ‘निजामती कर्मचारीको प्रतिवद्धता र पारदर्शिता र चुस्तता’ भन्ने नाराका साथ निजामति कर्मचारीहरुले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै छन् ।
विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो ।
नेपालमा निजामति सेवा गठन भएको ६२ वर्ष पूरा भएपनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा आज बिहान राजधानीमा प्रभातफेरि निकालिएको छ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकलाई प्रदान गरिने सेवा प्रवाहमा प्रभावकारिता, राज्यका तीन वटै तहमा सेवा प्रवाहको सुनिश्चितता र नागरिकप्रतिको जवाफदेहिता बढाउन आग्रह गर्नुभएको छ ।
यस्तै सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतले शुभकामना सन्देशमा संघीयता कायान्वयनमा निजामती कर्मचारीको भूमिका महत्वपूर्ण रहेको भन्दै सिंहदरबारको अधिकार गाउँरनगरमा र्पुयाउन सहयोग गर्न आग्रह गर्नुभएको छ ।
यसैबीच सरकारले दिवसको अवसरमा यो वर्ष उत्कृष्ट काम गरेका ४० जना निजामती कर्मचारीलाई निजामती सेवा पुरस्कार दिँदैछ ।
राजधानीमा आज विषेश कार्यक्रमको आयोजना गरी उत्कृष्ट निजामती सेवा पुरस्कार १० जनालाई र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गर्ने तयारी भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।
दुई लाख राशिको ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ भने यो वर्ष कसैलाई नदिइने भएको छ । सर्वोत्कृष्टका लागि नाम आएपनि उपयुक्त नठानिएकाले नदिइएको मन्त्रालयको भनाई छ ।