जनकपुर भाद्र १८ ।
गृहमन्त्री जनार्दन शर्माले आगामी असोज २ गते हुने तेश्रो चरणको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएकोले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।
जनकपुरमा आज आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले निर्वाचनमा मतदानका लागी जाने मतदाताले असुरक्षा महसुन गर्न नपर्ने बताउनु भयो ।
केही ठाउँमा बाढीपहिरोले र्पुयाएको क्षति बाहेक कुनै अवरोध नभएको भन्दै उहाँले सरकारले शान्ति सुरक्षाको कडा व्यवस्था गरेको बताउनुभयो ।
तेश्रो चरणको निर्वाचन भय रहित वातावरणमा सम्पन्न गराउन गृहमन्त्रालयबाट केन्द्रीय सुरक्षा नीति तयार भइसकेको भन्दै मन्त्री शर्माले जिल्लास्थित सुरक्षा निकायलाई समेत आ–आफ्नो जिल्लाको सुरक्षा नीति बनाउन निर्देशन दिईसकेको जानकारी दिनुभयो ।
वर्तमान सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले उपयुक्त समयमा संविधान संशोधन गरिने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सुरक्षा गोष्ठीमा गृहराज्य मन्त्री, निर्वाचन आयोगका पदाधिकारी, मध्यमाञ्चल र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक, प्रदेश नम्बर २ अन्तर्गतका आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल तथा सशस्त्र प्रहरी प्रमुख तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुको सहभागिता रहेको थियो ।