काठमाडौं, भदौ १८ ।
मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद अर्थात इद उल जोहा आज हर्षाेउल्लासका साथ मनाइदैछ । यो पर्व रमजान पर्वको ७० औं दिनमा मनाउने गरिन्छ ।
इस्लाम धर्मावलम्बीहरू आज बिहानै नुहाइ धुवाई गरी सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।
ईदको अवसरमा काठमाडौं उपत्यकाको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भिड लागेको छ ।
तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ ।
बकर इदको अवसरमा आज सरकारले सार्वजनिक बिदा समेत दिएको छ । हिजरी संवत् अनुसार १४ सय ३६ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको पाइन्छ ।
यसैविच पर्वका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाई तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपतिले एक सन्देश जारी गर्दै सम्पूर्ण नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सत्सङ्कल्प र सद्भाव नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावका साथै राष्ट्रिय एकता कायम गर्न सकोस भन्ने कामना गर्नुभएको छ ।
यस्तै उपराष्ट्रपति पुनले आफूहरूको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्दै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान भएको भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।