मेयरले सामान खरिदको बिल माग्दा लेखा अधिकृतले ‘कालिकोटेले लड्न खोजेको हो भन्दै फुकाले कोट’

मेयरले सामान खरिदको बिल माग्दा लेखा अधिकृतले ‘कालिकोटेले लड्न खोजेको हो भन्दै फुकाले कोट’

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

कालिकोट, भदौ १५ ।

कालिकोटको खाँडाचक्र नगरपालिकाको कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च वापत सामान खरिद र प्रशासनिक खर्चमा कार्यकारी अधिकृत र लेखा अधिकृतले लाखौ अनियमितता गरेको आरोप लागेको छ ।
गत आर्थिक वर्षका लागि स्थानीय विकास मन्त्रालयले पठाएको ५२ लाख रुपैयाँ मध्ये २८ लाख रुपैयाँ कार्यकारी अधिकृत पविता शाही र लेखा अधिकृत देवकिरण बुढाले अनियमितता गरेका हुन् ।
सरकारले कार्यालय व्यवस्थापन र प्रशासनिक खर्च वापत पठाएको आधाभन्दा बढी रकम फर्जी बिल भर्पाइ बनाएर कार्यकारी अधिकृत शाही र लेखा अधिकृत बुढाले अनियमितता गरेको मेयर जसीप्रसाद पाण्डेले बताउनुभयो । नयाँ नगरपालिका व्यवस्थित गर्न स्थानीय विकास मन्त्रालयले रकम पठाए पनि मनपरी गरेर कर्मचारीले अनियमितता गरेको उहाँले बताउनुभयो ।

मेयर पाण्डेले बुधबार पत्रकार भेटघाट आयोजना गरेर कार्यकारी अधिकृत शाही र लेखा अधिकृत बुढासँग पटक पटक खर्चबारे जानकारी माग्दा नदिएको बताउनुभयो ।
असार ३१ गतेको नगर सभामा नगरपालिकामा खरिद गरिएको सामान र खर्च गरेको रकमबारे जनप्रतिनिधि र कर्मचारीबिच भनाभन भएको थियो । असार ३२ गतेको नगर परिषद्को बैठकले कार्यकारी र लेखा अधिकृतले अनियमतिता गरेको रकम असुल उपर गर्ने निर्णय गरेको छ । नगरपालिकामा अनियमितताको आरोप लागेपछि दुवैै जना कार्यालय गएका छैनन् । नगरसभामा सामान खरिदको वास्तविक खर्च पेश गर्न भन्दा लेखा अधिकृत बुढाले ‘कालिकोटेले लड्न खोजेको हो भन्दै कोट फुकालेको’ मेयर पाण्डेले बताउनुभयो ।
नगरपालिकाबाट प्राप्त जानकारीअनुसार सामान खरिद गर्दा कार्यालय प्रमुख र लेखा अधिकृत सामान खरिदमा जान नपाइने प्रावधान भए पनि खाडाचक्रमा दुई जनाले मात्र सुर्खेत र मान्माबाट दोब्बर मूल्य हालेर सामानको बिल बनाएका छन् । केही सामान नै नल्याएर बिल मात्र ल्याएका छन् । ‘खरिद समिति बनाउनपर्छ ’ नगरपालिकाका इन्जिनियर रत्न भण्डारीले भन्नुभयो ‘कार्यालय प्रमुख र लेखा अधिकृत आफैले सामान खरिद गर्नु आर्थिक नियम विपरीत छ ।’
सामान खरिद गरेपछि स्टोर दाखिला गर्नु पर्नेमा कुनै पनि सामानको नगरपालिकाको स्टोरमा सामान दाखिला नभएको स्टोर किपर भिमप्रसाद पाण्डेको भनाइ छ । सामानको स्टोर दाखिला छैन’ स्टोर किपर पाण्डेले भन्नुभयो ‘खरिद गरेको बिल छ, सामान कहाँ छ ? थाहा छैन ।’ खरिद गरिएका अधिकांश फर्निचर पनि भाचिएर काम नलाग्ने अवस्था नगरपालिकाको स्टोरमा छन् । तर, स्टोर दाखिलाको रेर्कडमा छैनन् ।
दुई जनाको मिलेमतोमा भएको सामान खरिदको बिलमा सबैजसो सामानको दोब्बर मूल्य छ । केही सामान नै छैन । बिल मात्र दोब्बरको छ । बजार मूल्य ३८ हजार रुपैयाँ पर्ने डेल ल्यापटपको बिलमा ८३ हजार रुपैयाँका दरले ३ वटा उल्लेख भए पनि कार्यालयमा एउटा मात्र छ । ३२ हजार ९ सय रुपैयाँमा सामसुङ्ग कम्पनीको मोबाइल खरिद गरेको बिल भए पनि मोबाइल छैन ।
बजेट अनियमित गर्ने कार्यकारी अधिकृत शाही र लेखा अधिकृत बुढा विरुद्ध भदौ ४ गते नगरपालिकाले जिल्ला प्रशासनमा कारवाहीका लागि उजुरी पनि दिएको छ । ‘कर्मचारीकोे मनपरी रोक्न कठिन छ’ मेयर पाण्डेले भन्नुभयो ‘भ्रष्ट कर्मचारीलाई कारवाही गरी पाउँ भनेर उजुरी दिएको दुई साता बित्न लाग्दा पनि कुनै सुनुवाई भएको छैन ।
कार्यकारी अधिकृत शाहीले आफ्नोे नाममा स्थानीय विकास मन्त्रालयले गोप्य अक्तियारी दिएकोले माग्दैमा जनप्रतिनिधिलाई खर्चको हिसाव किताब देखाउन जरुरी नभएको सुनाइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ